कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने पक्का

 

सुर्खेत :कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ ।गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो ।

दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘कांग्रेस सरकारमा जाने पक्का हो, सरकारमा क–कसलाई पठाउने भनेर अन्तिम छलफल भइरहेको छ,’ नेता शाहीले भने ।

मुख्यमन्त्री शाहीले बिहीबार साँझ बस्ने प्रदेश मन्त्रिपरिषदको बैठकमा कांग्रेसले पठाएका दुई जनालाई मन्त्री सिफारिस गर्ने तयारी भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाही निकट एक मन्त्रीले बताए । ‘आज बेलुका क्याबिनेट बोलाइएको छ, आज नै काँग्रेसका दुईजना मन्त्री नियूक्त गर्ने र भोलि सपथ खुवाउने तयारी भइरहेको छ’ ती मन्त्रीले भने ।

प्रदेश सरकारमा हाल खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय कांग्रेस सांसदले पाउनेछन् ।

कांग्रेस निकट स्रोतका अनुसार सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पठाउने करिब पक्का भएको छ ।

‘गुटगत र भेगिए सन्तुलन मिलाएर सरकार पठाउँछौं,’ कांग्रेसका एक सांसदले भने, ‘देउवा÷पौडेल समूहका त्यो पनि सविकको कर्णाली र भेरीलाई समेटेर एकरएकजना सांसद्लाई मन्त्री बनाउछौं ।’

यसअघि सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलुकुदलाई आन्तरिक मामिला मन्त्रालयमा लिइएको थियो । कांग्रेसको अडानका कारण अहिले उक्त मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमै ल्याउने तयारी भइरहेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद वैठकले यो निर्णय गर्ने जनाइएको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पुर्‍याएका थिए ।

नेपाल समूहका फ्लोर क्रस गर्ने चारमध्ये तीनजना अहिले मन्त्री छन् । कुर्मराज शाही कृषि मन्त्री, अम्मर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योगमन्त्री छन् ।

कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेको नेपाल समूहका ३ जना मन्त्री छन् । काँग्रेसका २ जना थपिए ८ सदस्यीय मन्त्रिपरिषद् हुने छ ।

हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।