बानेश्वरको सडकमा खाल्डो ,गुणस्तरमा प्रश्न

काठमाडौं :  नयाँबानेश्वरको व्यस्त सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ ।

खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।