जीवन एक बरदान

ओशो भन्नुहुन्छ जीवन एक बरदान हो ।जीवन एक उत्सव हो संगीत हो ; यो अनुभूति गर्न जीवनको रहस्य बुझ्नु जरुरी छ अनि मात्र जीवन बरदान बन्न पुग्छ । बरदानयुक्त जीवन नै परमात्मा बन्दछ । हामीले त जीवन भनेको बॅाच्नु हो अर्थात जन्मेदेखि नमर्दासम्मको समय नै जीवन हो भन्ने बुझेका छौं ।के वास्तवमा जीवनको अर्थ यतिमै सीमित होला त ! बाहिरबाट हेर्द देखिने शरीरको संरचना भित्रीरुपमा पनि यही छ त ? ऋषिमुनि , ज्ञानी , बोधी पुरुष त सात शरीरको चर्चा गर्छन नि ! यो सोंचनीय छ , विचारणीय र रहस्यमय छ ।

जीवन के हो ? यो प्रश्न सायदै कम मानिसले आफूभित्र उब्जाएकाहोलान्, कमैले यसको चिन्तन गरेका होलान् तर जसले खोजी गरे तिनीहरुले उत्तर पाएरै छाडे। उत्तर पाउने कोही मौन नै बसे कोही बोले तर तिनीहरुका कुरा फेरी कमैले मात्र बुझे। अचम्म छ नि कुरा होइन र ? यही रहस्यमय किताब हो जीवन। जजस्ले बुझे आफूलाई पार गराए र कतिले अरुलाई पनि। कोहीमा यो प्रश्न जीवनको बिहानमै उब्जिन्छ भने कोहीमा जीवनको सॅाझमा पनि उब्जेको हुन्न,यो पनि प्रारब्धकै प्राप्ति होला सायद नत्र कृष्ण ,बुद्ध ,महावीर ,ओशो ,जीजस ,मीरा , नानक आदीले मनुष्य शरीरमा जीवनको रहस्य कसरी पाए बॅाकी अरुले किन पाएनन् ? सजिलै त पक्कै पाएका होइनन् ,जीवननै दिएर जीवनको रहस्य बुझेका हुन् ।

फेरी यो रहस्य जान्न विशेष कुलमै जन्म हुनु पर्ने भन्ने सवाल पनि उठ्ला तर कबीर साहेब र रैदासजस्ता सन्त हेर्दा यो पनि जरुरी होइन भन्ने आधार छ। बुद्ध, मीरा र महावीर त राजघराना उच्च कुलका थिए तर अस्तित्त्वले सबैलाई समान अवसर दिएको कुरा कबीर र रैदासको ज्ञानबाट प्रस्ट हुन्छ किनकी यी दुई सन्तको न उच्च कुल थियो न जात तर राजघरानाकी बुहारी मीरालाई कृष्णरुपी नादको ज्ञान दिने ज्ञानी सन्त रैदास नै थिए जो जातीले चमार थिए। वेद मन्त्र रटेर भएका पण्डितले कहॅा रामरसको अनुभूति गराउन सकुन् ! न त जीवनके बोध नै गर्न ।

यो जीवनरुपी रहस्य बोध गर्न न कुलले न जात न सम्प्रदायले नै रोक्न सक्ने रहेछ न त लैंगिकताले नै ।यो त जीवन पाउना साथ संगसंगै जोडिएर आउॅदो रहेछ तर जीवन रहॅदासम्म कसलाई चासो यहॅा ।जीवनको रहस्यको बोध गर्न , जीउन र प्रेमरस पिउन जो केहीलाई अवसर प्राप्त छ । कृष्णलेझैं जीवनलाई उत्सव बनाउने,मीराको जस्तो जीवनलाई संगीतमय बनाउने,बुद्धको जस्तो जीवनलाई निर्वाणमय र ओशोको जस्तो जीवनलाई प्रेममय र होसमय बनाउने अवसर मानिसलाई प्राप्त छ । गरौं न खोज सत्यको।

जीवनमा घटेका एक एक घटनाको साक्षी हॅुदै जन्मदेखि मृत्युसम्मको यो समयलाई जीवन्त बनाऔॅ ।जीवनलाई अहोभाव बनाऔॅ । यो महामारीको संकटमा नश्वरताको बोध नगरे कहिले गर्ने ? चौरासी लाख योनीपछि प्राप्त मानिस चोलामा पनि यो कतिऔॅ जन्म हो कसलाई के थाह । सिक् , चेत् अब मानिस भनेर प्रकृतिले दिएको चेतावनी हो यो माहामारी । सारा प्रकृति नाची रहेको छ अनन्त कालदेखि तर ह्रेर्ने फुर्सद कसलाई !!! पद , मद र अतृप्त आकांक्षामा मानिसले केही पाएन बरु मनुष्यत्त्व गुमायो, मानवीय धर्म बेच्यो, असंवेदनशीलको पराकाष्ट पार गर्यो ।

अब आफूलाई खोज्ने , मानवताको बीउ रोप्ने बेला आयो । सफलभन्दा असल बन्ने र बनाउन सहयोग गर्ने बेला आयो । पहिला आफ्नो बिग्रीएको मनलाई मन्दिर बनाउने बेला आयो किनकी बुद्धले आफूलाई चिनेर बल्ल अरुको बाटो सरल पारेका थिए । दरवारमा रहेर ऋषिजस्तो जीवन जो बिताउॅछ त्यो बल्ल असली शासक हुन्छ , सिकॅौ हाम्रै देशका जनकसॅग । फेरी प्रश्न उही किन जनक ? किनकी जनक सामान्य राजा थिएनन्, उनी जीवनको रहस्य बोध गरेका थिए अझ भनॅौ भने सन्यासी राजा थिए । दरबारमा थिए तर दरबारको थिएनन् अर्थात् कामना र मोहमुक्त । जीवनको रहस्य बुझेर उनी महर्षि भए ।जसले जीवनको रहस्य बुझ्छ त्यो कसरी विवेकहीन हुन सक्छ? प्रेम , करुणा , उपकार त उसको पहिचान बन्छ बिना प्रयत्न नै ।

जसले जीवनको रहस्य बुझ्छ त्यो परमानन्दमा पौडन्छ । जीवन नृत्य बन्दछ , अस्तित्वको महारासलीलामा समावेश हुन्छ । यो रासलीलामा प्रवेश हुने क्षण ….आहा ! सत्य र आनन्दलाई शब्दमा उतार्न म असमर्थ छु । खोजौं न आजैदेखि अनि डुबौं परमानन्द महासागरमा ।मलाई ओशोको “जिन खोजा तिन पांइयॅा” वाक्य सार्थक लाग्यो यो सन्दर्भमा अर्थात भित्रदेखि जे खोज्ने र पाउने इच्छा राखिन्छ त्यही पाइन्छ । चोर बन्ने , विवेकी बन्ने , मान्छे कि मनुष्य बन्ने , ढोंगी बन्ने कि कृष्णत्त्वयुक्त बन्ने इच्छा रोजाइ हाम्रो ।इच्छा राखॅौ जीवन र मृत्युको बीचको समयको वास्तविक प्रयोजन बुझ्ने । गरौं सही सदुपयोग जीवनको।

अहिलेको परिस्थितिमा सबैलाई यो भने पक्कै लागेको छ जीवनको रथ कति बेला रोकिने हो हैन र ? सधै आफ्नै अनुकुलमा चलेको जीवनमा अचानक कोरोना नामक मोड आयो । जीवनको बाहीरी गतिमा ब्रेक लाग्यो। मानिस फेरी जीवनरक्षाको लागि घरमै बस्न थाले किनकी घर केवल राती सुत्ने गेष्टहाउस मात्र पनि बनेको थियो धेरैको ।अहिले वास्तविक घर बनेको छ।
मोबाइल र ट्याबका सहायतामा हुर्केका केटाकेटीले बाउको काख र स्नेह पाएका छन् । धेरैको खुसी लुट्यो भाइरसले केही त पक्कै दियो । धेरै गुमाइयो केही गुमेका कुरा पनि त पाइयो पारिवारीक साथ तर जन्मौं जन्मदेखि गुमाउॅदै आएका कुराको खोज खै त ? मृत्युसॅग बॅच्न गुप्तबास त सुरु भयो तर मनदेखि आत्मतर्फको यात्राको प्यास फेरी पनि जागेन …. जेलमा बस्दा स्वामी अरविन्दले जीवन रहस्य बुझेर राजनितिज्ञबाट स्वामी भएका थिए ।

कैद उनको लागि अवसर बनेको थियो भने कैदी त महीमारीले अहिले पनि बनाइदिएको छ । खै त ? आखिरमा धन दौलत अनि वैज्ञानिक औषधिले पनि प्राण रक्षा गर्न सकेन त ! कुन कुरामा गर्व गर्ने मानिसले ? प्रकृति र मृत्युको अगाडि सबै लाचार … सेच्ने बेला त आएकै हो होइन र ? पीडा सधै रुवाउन मात्र होइन जगाउन पनि आउॅछ । के थाह यो पीडा मानिसलाई जगाउनको लागि पो हो कि ! जागौं न , पाइला त चालौं सत्यतातिर ।शॅकर लामिछानेले भनेझैं प्राध्यापकरुपी जीवनद्वारा सिकाइएका हरेक पाठबाट सिकौं जीवन रुपान्तरित गरॅौ ,जीवन नै प्राध्यापक । मननीय छ ….। दानवबाट मानवतिर, नरबाट नारायणतिर, बुद्धुबाट बुद्धतिरको यात्रामा निक्लौं।

जीवन त बॅासुरी पो त ! केवल आकासले भरिएको , रित्तो खोक्रो हेर्द बॅासको टुक्रा तर कृष्णजस्ताको हात र ओठ पाउॅदा मधुर संगीत ओमकार नाद निक्लेझैं जीवनबाट पनि मानवता , करुणा , प्रेम र क्षमाशीलताजस्ता संगीत निस्कन्छ। जीवननै मधुर संगीत बन्छ त्यसैले जीवन र यसको रहस्य जीवनपछि खोज्नु असम्भव छ , जीवन रहॅदै खोजॅौ । शरीरमै हॅुदै होस र प्रेमको मार्गद्वारा चैतन्य अर्थात् केन्द्रमा पुगेपछि जीवनको रहस्य खुल्दै जान्छ अनि देवकोटाकोजस्तो प्रेमल चक्षु पनि खुल्छ ,रविन्द्रनाथजस्तो दृष्टि अनि बुद्धकोजस्तो ज्ञान र मीराकोजस्तो प्रेम पनि। अनि बन्छ ओशोले भनेझैं जीवन सेलिब्रेसन ।जब जीवन नृत्य र गीत बन्छ अनि जीवन परमात्मा नै बन्छ । जीवन बरदान बन्छ ।

सुन्दरा कार्की
उपप्राध्यापक
सि . गौ. बु. क्या.