
त्यो समय
जतिबेला तिमी मेरो नजिक हुन्थ्यौ
हामीले जे पनि गर्न सक्थ्यौं ।
म तिमीलाई अँगाल्न सक्थें
र चुम्न सक्थें तिम्रा मासुम ओठ
तिमी मुस्कुराउन सक्थ्यौ
या रिसाउन पनि सक्थ्यौ ।
म तिम्रै अगाडि चुरोटको धुवाँ उडाउन सक्थें
र हामी उड्न सक्थ्यौँ माथी माथी धुवाँ सँगै
बाँडेर खान सक्थ्यौं एक गिलास चिया :
एक चुस्की तिमी
अर्को चुस्की म
हेरिरहन सक्थें –
तिम्रा आँखा
समातिरहन सक्थें –
तिम्रो हात
चुमिरहन सक्थें
तिम्रो ओठ
रातभर आकाशमा आँखा डुलाएर खोज्न सक्थ्यौं –
जोडी तारा
एउटा तारा भएर म बस्न सक्थें
अर्को तारा भएर तिमी बस्न सक्थ्यौ
पुग्न सक्थ्यौं –
मान्छे नपुगेको कुनै निर्जन ठाउँ
र बनाइदिन सक्थ्यौं त्यसलाई स्वर्ग
तर दुर्भाग्य हाम्रो प्रेमको,
जतिबेला म तिम्रो नजिक थिएँ,
मैले तिमीसँग आँखा मात्र जुधाए
तिमी मुस्कुरायौ मात्र
आज तिमीभन्दा धेरै टाढा
समयले बनाएको अँध्यारो गुफामा बसेर
म औंला भाँचिरहेको छु –
त्यो बेला हामीले जे पनि गर्न सक्थ्यौं ।
