सुदूरपश्चिममा व्यवस्थित रुपले आन्तरिक रुपमा निषेधाज्ञा खोल्न सकिन्छ :चिकित्सक

कैलाली :कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेका थिए । पटक पटक गरेर निषेधाज्ञा लम्ब्याएकै कारण अहिले संक्रमण घटेको चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमण कम हुनुको प्रमुख कारण निषेधाज्ञा नै भएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजनदत्त शर्मा पौडेल बताउँछन् । ‘मलाई स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको रिजल्ट अहिले देखिएको जस्तो लाग्छ । मानिसहरुको आवतजावत भएन, एकै ठाउँमा बस्नुपर्यो,’ डा. पौडेलले भने, ‘यसले दुई वटा कुरामा सहयोग पुग्यो, पहिलो मानिस बसेको ठाउँमा के कति केसहरु छन् भनेर पहिचान गर्न सजिलो भयो । दोस्रो आवतजावत नै नभएपछि संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिन पाएन ।’

तर संक्रमण कम हुँदैमा जोखिम घटेको र अगामी दिनमा नफैलिने भन्ने कुरामा ढुक्क हुुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘अब अगामी दिनहरु कस्ता हुन्छन् भन्ने कुरा अहिले भन्न त सकिंदैन । त्यो गाह्रो नै छ,’ उनले भने, ‘तर यदि अहिले जारी निषेधाज्ञा खोल्ने नै हो भने व्यवस्थित र वैज्ञानिक रुपले खोल्नुपर्छ । तत्कालै एकअर्का जिल्लाबीच सम्पर्क नगराउने र आन्तरिक रुपमा खोल्न सके राम्रो हुन्छ ।’