
थुक्पा
सामाग्री :
उसिनेको चाउमिन, मिक्स भेजिटेबल पचास ग्राम । गाँजर, बन्दागोभी, सिमी, लसुन दुई–तीन केस्रा चप गरेको, तेल दुई चम्चा, नुन स्वादअनुसार, खुर्सानी दुई पिस चप गरेको, मैदा एक चम्चा, कागती आधा दाना, टेस्टिङ् पाउडर हल्का आवश्यकताअनुसार, सोया सस आधा चम्चा ।
विधि :
चुल्होमा फ्राइपेन बसाल्ने । प्यान तातेपछि तेल राख्ने । तेल तातेपछि लसुन फुराउने । लसुनमा ब्राउन कलर आएपछि मैदा राख्ने । मैदा पनि ब्राउन कलर आउने गरी केहीबेर भुट्ने, मिक्स भेजिटेबललाई पनि केहीबेर भुट्ने, त्यसमा स्वादअनुसार नुन, खुर्सानी, टेस्टिङ् पाउडर राख्ने र चलाउने केहीबेर पछि चाउमिन पनि राख्ने र त्यसलाई केहीबेर चलाउने । केहीबेर फ्राई भएपछि आफ्नो स्वादअनुसार पानी राख्ने अनि त्यसलाई उमाल्ने । उम्लिसकेको थुक्पामा आधा गरी राखिएको कागतीको रस राख्ने । थुक्पा तयार भयो ।
मिक्स भेजिटेबल सुप
सामाग्री :
फूलगोभी ,एक कप काटेको गाजर, मध्यम आकारमा काटेको भेँडे खुर्सानी, बिज निकालेर काटेको, हरियो मटर दाना आधा कप । अदुवाको पेस्ट एक सानो चम्चा, कर्नफ्लोर एक ठूलो चम्चा, बटर दुई ठूलो चम्चा, मरिच आधा चम्चा, चिल्ली सस एक ठूलो चम्चा, कागती एक सानो चम्चा, हरियो धनियाँ एक चम्चा काटेको, नुन स्वादअनुसार
विधि :
मिक्स भेजिटेबल सुप बनाउन सबैभन्दा पहिला सबै सब्जी धुने । त्यसपछि दुई ठूलो चम्चा पानीमा कर्नफ्लोर भिजाउने ।
एउटा भाँडामा बटर तताउने । तातिएपछि अदुवाको पेस्ट र काटेको सब्जी हालेर धिमा आगोमा पकाउने ।
सब्जी भुटेपछि त्यसलाई ढक्कनले छोपेर धिमा आँचमा दुई मिनेट पकाउने । त्यसपछि सब्जीमा आधा लिटरभन्दा थोरै बढी पानी हाल्ने र मरिच, चिल्ली सस र नुन घोलेर मध्यम आँचमा पकाउने । यस्तो मिश्रणलाई केही समय पकाएपछि मिक्स भेजिटेबल सुप तयार हुन्छ । यसलाई कागती, हरियो धनियाँ र थोरै बटर हालेर तातोतातो सेवन गर्न सकिन्छ ।
गार्लिक सुप
सामाग्री :
सुकेको लसुन ५–६ पोटी, तेल ठूलो दुइ चम्चा, मैदा ठूलो एक चम्चा, नुन, मरिच, अजिनामोटो स्वादअनुसार, तातोपानी वा स्टक एक बाउल, चिकेन क्युब ।
विधि :
सर्वप्रथम लसुनलाई चप शेपमा काट्ने, सस प्यानमा तेल तताउने र लसुनलाई हल्का भुट्ने । लसुन हलुका खैरो भएपछि मैदा भुट्ने । मैदा हलुका खैरो भएपछि तातोपानी वा स्टक राख्ने । अन्तमा तातो पानी उम्लेपछि नुन मरिच धुलो, अजिनामोटो, चिकेन क्युब राख्ने । केही समय उमालेपछि गार्लिक सुप तयार हुन्छ ।
खसीको खुट्टाको सुप
सामाग्री :
खसीको चार वटा खुट्टा, बेसार एक चम्चा, तेल दुई चम्चा, जिराको धूलो आधा चम्चा, धनियाँको धूलो आधा चम्चा, लसुनको लेदो आधा चम्चा, अदुवाको लेदो आधा चम्चा, मुंगको दाल पचास ग्राम, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार
विधि :
खसीको खुट्टा सफा गरेर स–साना टुक्रा बनाउने । प्रेसर कुकरमा तेल तताएर राम्रोसँग भुट्ने । त्यसपछि सबै मसला हालेर एकछिन भुट्ने । अब मुंगको भिजाएको दाल हालेर खुट्टासँगै एकछिन भुट्ने । अन्तमा आवश्यक मात्रामा पानी हालेर खुट्टाका टुक्रा गल्दासम्म सिटी लगाएर पकाउने । राम्रोसँग पाकेपछि निकालेर एउटा कचौरामा राखी हरियो धनियाँ छर्केर सर्भ गर्ने ।
