
दिपेश राज नेपाल
रुपन्देही :बुटवल १३ मा एडमण्ड सिटी अस्पताल संचालनमा आएको छ । अस्पतालले तत्कालै कोभिड संक्रमितका विरामीको उपचार गर्ने छ ।
बि.सं २०६७ सालमा नेपाल सरकारबाट ५ सय शैय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । मंगलबारबाट अस्पतालले सेवा शुभारम्भ गर्ने आज अस्पताल मै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
करिव १ विगाहा क्षेत्रफल भित्र भेण्टिलेटर सहित ८ शय्याको आईसियू ७ शैयाको एचडियू तथा ३५ शय्याको कोभिड आइसोलेशन सहित ५० शय्याको अस्पताल पछिल्लो २० दिनमा रातदिन काम गरी संचालनमा ल्याइएको नेपाली कांग्रेसका युवा नेता तथा अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।
उपकरण र स्वास्थ्य सामाग्री सहित ३ करोडको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेडिक २२ र अन्य कर्मचारी सहित १ सय ४० जना कार्यरत रहने उनले जानकारी दिए ।
कोभिडको संक्रमण दर केही कम भएपनि जोखिम कायमै रहेकाले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । कोभिड महामारी अन्त्य भएमा सोही अस्पतलमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर,न्यूरो तथा क्यान्सर रोग उपचार गर्ने योजना अस्पतालले बनाएको छ ।
