धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालन

धनगढी :सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवतरुपमा उद्घाटन गरे ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा दिन थालेको थियो ।

‘फिल्ड हस्पीटल’ नाम दिइएको उक्त अस्पतालमा नेपाली सेना, सेवानिवृत्त सैनिक र उनीहरुका परिवारका सदस्यलाई उपचार दिइने सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितको समेत उपचार भइरहेको छ ।

यस्तै प्रधान सेनापति थापाले सुदूरपश्चिम सैनिक शिविरको समेत उद्घाटन गरेका छन् । उक्त शिविरमा खेलकुद कम्प्लेक्स, क्लब, ठूलो दर्जाका सैनिक परिवारसहित बस्न मिल्ने अपार्टमेन्ट लगायतका संरचना निर्माण हुनेछन् । सुदूरपश्चिम पृतनाले केही संरचना निर्माण भइसकेको र केही निर्माणकै चरणमा रहेको जनाएको छ ।