लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन तयारी :पाण्डेय र खड्कामा कसले मार्ला बाजी ?

दिपेस राज नेपाल

बुटवल :लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको भोलि (सोमबार) हुने उपनिर्वाचनको सबै तयारी पूरा भएको छ । मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीन वटा मतदान केन्द्र बनाइएको छ

भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो ।

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाई उमेदवार बनाएको छ । नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले पाण्डेयलाई रुख र खड्कालाई सूर्य चुनाव चिह्न प्रदान गरिसकेको छ । उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धन दुवैले आ–आफनो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य पद र एमाले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका पाण्डेयलाई कांग्रेसलगायत माओवादी केन्द्र, जसपाको (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद गुमाएका खडकालाई एमालेले उम्मेदवार बनाएको हो । तर उनलाई एमालेकै माधव नेपाल समूहले मत नदिने बताइएको छ । लुम्बिनीमा पनि बागमतीमा जस्तै फ्लोर क्रस हुने दाबी विपक्षी गठबन्धनको छ ।
यस्तो छ अंक गणित

प्रदेशमा कूल मतदाता संख्या २९६ छ । प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ । मतभार अनुरुप ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहतर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत संख्या छ । जीतका लागि ३ हजार ८५० मत ल्याउनु पर्छ ।

मतदानमा भाग लिने प्रदेश सभा सदस्यमध्ये एमालेका ३८ छन् । विपक्षी गठबन्धनमा ४१ छन् अर्थात कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एक जना छन् । स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।

आफूहरुसँग स्पष्ट बहुमत रहेको दाबी कांग्रेससहितका विपक्षी गठबन्धनको छ भने एमालेले साना दल र स्वतन्त्रले आफूलाई साथ दिने भन्दै जीत सुनिश्चित रहेको दाबी गरेको छ । प्रदेश सभामा विपक्षी गठबन्धन बलियो देखिएको छ । स्थानीय तहतर्फ पनि ११८ मतदाता विपक्षी गठबन्धनकै छ । त्यसमाथि बाग्मतीमा जस्तै फ्लोर क्रस हुने निश्चित भएको दाबी विपक्षी गठबन्धनको छ ।

नेपाली काँग्रेसका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले आफूहरुसँग स्पष्ट बहुमत रहेकाले जीत सुनिश्चित रहेको दावी गर्छन् । माओवादी केन्द्रका नेता सुदर्शन बरालको गठबन्धनमा प्रदेश सभा तर्फ कूल १ हजार ९६८ र स्थानीय तह तर्फको १ हजार ९९८ गरी कूल ३ हजार ९८४ मत संख्या रहेको दाबी छ । त्यसका अलावा केही मत फ्लोर क्रसबाट आउने भन्दै पाण्डेयको जित सुनिश्चित भएको दाबी गरे ।

एमालेका खड्काको पक्षमा भने प्रदेशसभामा ३८ र स्थानीय तहमा ९४ प्रमुख उपप्रमुख छन् । त्यसबाहेक जसपाको ठाकुर पक्षका ६ जना जसपाको ठाकुर पक्षका, नयाँ शक्तिका एक जनाले पनि एमालेलाई सघाउने बताइएको छ । एमालेको पक्षमा कुल ३ हजार ६६० मतसंख्या हुन आउँछ । एमालेकै माधवकुमार नेपाल समूहका जनप्रतिनिधिले बागमतीमा जस्तै फ्लोर क्रस गरे यो संख्या अझ घट्ने छ