कविता :आगोका बच्चाहरू

कुनै एक मलमासको
मध्याह्न उजाड दिनमा
अनौठो स्वरले गुहार मागिरहेथ्यो
कुनै राजाको दरबार, या रङ्कको
झुपडीबाट हुनसक्छ ।

आगोका बच्चाहरू !

त्यो आवाज कस्तो थियो ?
जबर्जस्त, सङ्कुचित/निसाफ ।

सायद निस्केको हुनसक्छ
लालझण्डाहरूको जुलुसबाट
एकटुक्रा झिल्का ।

या, फुत्केको हुनसक्छ
रातो मान्छेहरूको हत्केलाबाट
जुनुकिरी भेषमा ।

ती- निर्मम, निर्मम आवाज

जुन- आवाजले
चिथोर्‍यो या चिथोरेन बाघहरूको बहिरा कान ।

जुन- आवाजले
फोड्यो या फोडेन सुरक्षार्थ ब्वाँसो लुक्ने झ्याल ।

हस्तक्षेपी यो दुनियाँमा
हस्तक्षेप गर्‍यो गरेन
आगोको समवेदना आवाजले जोकरहरूको बोलीमाथि ।

पाईला टेक्यो या, टेकेन
सार्बभौम यो देशको छातीमा ।

ती- आगोका बच्चाहरू
कि तुहिएका हुन् ?
उन्मुख्त कम्युनिष्टहरूको गर्भबाट
र चिच्याईरहेछन् दुरदराज ग्रामीण क्षेत्रमा
`न्याय, न्याय´ भन्दै ।

उनीहरू आगोका बच्चाहरू हुन्
अब, पानीको अहममाथि सवार गर्दै आईपुग्नेछन्
तिम्रो आलिसान बस्तीमा
र होम्मिनेछन् आन्दोलनमा ।

कृपया !.
उनीहरू आगोका बच्चा हुन् नचलाउनु होस् !
जब यी आगाेका बच्चाहरूलाई फिलिङ्गाे सम्झेर चलाउनु हुन्छ
सम्झनाेस् तपाईं आफै सकिने खतरा छ ।