चितवनमा घट्दै कोरोना संक्रमणको दर


चितवन :चितवनमा मध्य जेठसम्म आइपुग्दा कोरोना संक्रमण दरमा धेरै कमी आएको छ । अस्पताहरुमा कोरोनाका बिरामीको चाप पनि घट्दै गएको देखिन्छ ।

भरतपुर अस्पतालका अध्यक्ष तथा वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले चितवनमा भएको जम्मा कोरोना परीक्षण मध्ये ७४ प्रतिशतलाई संक्रमण देखिने गरेकोमा अहिले १५ देखि २० प्रतिशतलाई मात्र संक्रमण देखिएको बताए । उनले भने, यो एकदमै शुभ संकेत हो । अब दुई हप्ता धैर्य गरौं । कोरोना संक्रमण धेरै घट्छ ।

डा.अधिकारीले भरतपुर अस्पतालमा एक हप्ताअघिसम्म दिनको ४५० जना जति दैनिक कोरोना परीक्षण गर्न आउने गरेकोमा अहिले दैनिक १५० जना मात्र आउँने गरको बताए । उनले भने, परीक्षण गर्नेको संख्या घटेसँगै कोरोना संक्रमण दर पनि घट्दो छ । गम्भीर रहेका कतिपय बिरामीको मृत्यु भएका छन् भने सामान्य बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालहरुमा बिरामीको चाप घट्दो छ । उनले कोरोनाको तेस्रो वेभ भविष्यमा आउन पनि सक्ने वा सामान्य रोग जस्तो भएर जाने दुवै सम्भावना रहेको बताए ।

स्वास्थ्य कार्यालय चितवनले आज प्रेषित गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन जिल्लामा एक जना पनि कोरोना संक्रमितको निधन भएको छैन । अन्य जिल्लाबाट आएका कोरोना संक्रमित भने तीन जनाको मृत्युभएको छ ।

अस्पतालमा उपचाररत बिरामीको संख्या ५०० बढी पुगेको थियो तर विगत २४ घण्टामा सो संख्या घटेर ३९२ मा झरेको छ ।

त्यसैगरी आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घटेको देखिन्छ । विभिन्न अस्पतालको आईसीयूमा १९०, भेन्टिलेटरमा ६१ जना, एचडीयूमा ४३ जना र सामान्य बेडमा १५४ जनाको उपचाररत भइरहेको छ । जुन एकहप्ता अगाडिको तथ्यांक भन्दा धेरै कम हो ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विगत २४ घण्टामा १०७ जना कोरोना संक्रमित चितवनमा थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ८२ जना, खैरहनीमा ३ जना, माडीमा ५, रत्ननगरमा ९ जना, राप्तीमा ५ जना र कालिकामा ३ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ९०३ जना पुगेको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३५ जना बिरामी डिस्चार्ज भएका छन् जुन संख्या एक हप्ता अगाडि धेरै कम थियो ।