
पाल्पा :शनिबार बिहानैदेखि अवरुद्ध सिदार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । निरन्तरको वर्षाका कारण ढुंगासहितको पहिरो सखेर अवरुद्ध सडकका ढुंगाहरु पन्छाएर एकतर्फी रुपमा सडक सुचारु भएको हो ।
तिनाउ गाउँपालिका वडा नं.३ को सिसुवा नजिकै खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिबु खत्रीले जानकारी दिनुभयो । ढुंगासहितको पहिरो खसेका कारण पहिरो पन्छाउन समय लागेको सूचना अधिकारी खत्रीले बताउनुभयो ।
प्रहरी र सडक डिभिजन कार्यालय पाल्पाको स्काभेटरको सहायतामा एकतर्फी रुपमा सडक सुचारु गरिएको र भोलीदेखि मात्रै दुईतर्फी रुपमा संचालनमा आउने सडक डिभिजन पाल्पाले जनाएको छ । दिनभर सडक अवरुद्ध हुँदा यात्रुवहाक सवारी नचलेको भएपनि अत्यावश्यक सेवकाका सवारीहरु समयमा गन्तव्यमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।
सोही स्थानमा गतवर्ष पनि ठूला ढुंगासहितको पहिरो खसेपछि तीन दिनसम्म राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
