गणतन्त्र दिवसको अवसरमा सिन्धुली कारागारमा रहेका पाँच जना कैदीबन्दीलाई माफी

सिन्धुली :राष्ट्रपति विद्यादेवी भण्डारीले क्याविनेटको सिफारिशमा ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । जेठ १५ गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुको कैद कट्टा गरी माफी मिनाहा गरिएको हो । जसअन्र्तगत सिन्धुली कारागारमा रहेका पाँच जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।

गणेश केवट, आशिष भनिने क्षितिज दनुनार, नेत्रबहादुर खड्का, असरफ रायन र रामबहादुर माझीको कैद कट्टा गरी माफी मिनाहा गरिएको हो । सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका सिन्धुलीको दुधौली नगरपालिका–५ का दनुनार, रुपन्देही सियारी–५ का केवट, र चितवनको भरतपुर महानगरपालिका–१२ का खड्का रहेका छन् । त्यस्तै, चोरी मुद्धामा सजाय भोगिरहेका धनुषा जिल्ला जनकपुर उपमहानरपालिका–८ का रायन र ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गरिहेका सिन्धुलीको दुधौली नगरपालिका–११ का माझी रहेका छन ।

उनीहरुको कैद मिनाहा गरेपछि सबै आ–आफ्नो घर शनिबार नै गइसकेको कारागार श्रोतले बतायो । जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले कैद मिनाहा गर्न सिफारिश गरेको थियो ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कैद मिनाहा गरेको जनाएको छ । सिन्धुली कारागारमा क्षमता भन्दा ४ सय ८० बढि कैदीबन्दी रहेका छन् । सिन्धुली कारागारमा ८० को जना कैदीबन्दी क्षमता भएपनि हाल ५ सय २० कैदीबन्दीहरु बस्दै आएका छन् ।