कविता :बिम्ब -बिपिन खनाल

कालो टेबलमाथी निलो फ्लावर भेसमा
रातो प्लास्टिकको फूल मुस्कुराइरहेको छ
मानौं ऊ आज बाँचिरहेको सयौं वर्ष हो।

म देखिरहेको छु,
पहेँलो रङको पर्दाले
झ्यालका ग्रिलहरु चुम्न खोजिरहेको छ
र हावाले ती पर्दालाई आफ्नै धुनमा नचाइरहेको छ।

म देखिरहेको छु,
भित्तामा झुण्डिरहेको भग्वानको सुनौलो फोटोफ्रेम
निकै जोड गर्दा देख्न सक्छु
धर्म अडाइरहेको मसिनो काँटी पनि।

ढोका पछाडी झुन्डिरहेको
एउटा पुरानो खैरो रङ्को स्विटर देखिरहेको छु।
स्विटर, जसले छोपिसकेको होला अहिलेसम्म
कयौंपटक टुटेको कसैको दिल।

ऐनाभित्र उभिएर मैले यी सब देख्न सक्छु
यिनीहरुको रङ् बताउन सक्छु
सक्छु यिनिहरुको आकार, बनोट पनि सजिलै बताउन।

देख्न त देखेको छु
मेरै अघि उभिएको एक बस्तु जो मजस्तै छ
जो निकैबेरदेखि मलाई नियालिरहेको छ- चुपचाप।
न मुस्कुराइरएको छ, न रोइरहेको छ
बस् हेरिरहेको छ मलाई निरन्तर।

तर मैले देख्न सकिरहेको छैन
सो बस्तुको अनुहारमा कुनै किसिमको रङ्!
मैले ठम्याउन सकिरहेको छैन
त्यसको आकार र बनोट पनि।
अवस्था यस्तो छ कि,
ऊ सुन्ने हालतमा पनि छ जस्तो लाग्दैन!
त्यसैले म पनि हेरिरहेको छु उसलाई
उस्तै चुपचाप; उस्तै निरन्तर।

तर कुनै दिन, यसरी नै फेरि मेरो अघि ऊ आएर उभिए
म सुनाउनेछु उसलाई,
उसको कारण मलाई परेका असरहरु।
कसरी ऊ चुप रहँदा म पनि बोल्न सक्दिन!
कसरी ऊ नमुस्कुराइरहँदा, म पनि मुस्कुराउन सक्दिन!
कसरी उसकै कारण मैले चिन्न सक्दिन,
मजस्तै मेरै अघि उभिएको मान्छेलाई।

उसका पछाडी भएका
प्लास्टिकको फूल, पर्दा, फोटोफ्रेम, स्विटर आदि इत्यादि
सायद उसैले आफ्नो मन पर्ने रङको ल्याएको हुँदो हो
अझ भनौं ती सबमा आफ्नै रङ्हरु भरेको हुँदो हो।

अहो! कस्तो बिर्सेको?
अरुमा रङ् भर्ने मान्छे अक्सर आफू रङ्हिन हुन्छ भनेर!