पाल्पामा चौथो चरणमा जेठ २४ गतेसम्म निषेधाज्ञा, उल्लघन गर्नेलाई कारबाही

पाल्पा :पाल्पामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मका लागि थप गरिएको छ । तीन पटक गरिएको निषेधाज्ञामा समेत संक्रमण नियन्त्रणमा नआएपछि चौथो चरणमा थप कडाईका साथ निषेधाज्ञा लागू गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले चौथो चरणमा जेठ २४ गते राती १२ बजेसम्मका निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिएका छन । अन्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने तथा खाद्य पसलहरु विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको छ ।

औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने भएपछि अनावश्यक रुपमा सवारी चलाउने र यात्रा गर्नेलाई कारबाही समेत गरिने भएको छ ।
स्थानीय प्रशासनले मास्क नलगाई सार्वजनिक स्थलमा हिडेको खण्डमा पटकै पिच्छै एक सय रुपैँया जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै बिरामी बाहेक सम्बन्धित अधिकारीलाई जानकारी नदिई दुई पांग्रे सवारी संचालन गरे सोही स्थानबाट दुई हजार तथा अन्य सवारीलाई ५ हजार रुपैँया जरिवाना गर्न सुरक्षा निकायलाई नै जिल्ला प्रशासनले निर्देशन दिएको छ ।
जारी अध्यादेशको पालना नगर्ने व्यक्तिलाई एक लाख तथा संस्थाको हकमा ५ लाखसम्म जरिवाना गर्ने स्थानीय प्रशासनले जनाएको छ ।