रुण तेस्रोको डाइभर्सनल टनेलको बाँध बाढीले बगायो,झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति


सङ्खुवासभा :सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको छ ।

बिहीवार (हिजो) देखि लगातार परेको पानीपछि अरुण नदीमा आएको बाढीले बाँध बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कविन राईले जानकारी दिएकाछन । डाइभर्सनल टनेल बाढीले बगाएपछि त्यो सेक्टरको काम रोकिएको छ ।

अरुण तेस्रोको डाइभर्सनल टनेलमा पानी हाल्न बनाइएको ढुङ्गा माटोको अस्थायी ड्याम बाढीले भत्काएको हो । बाढीले ड्याम भत्काउँदा पानी प्याँक्न प्रयोग गरिएका डिवाइटिङ पम्प तीन वटा र पम्पमा लाग्ने फलामे पाइप ४० मिटर, सिमेन्ट, गिटी, कङ्क्रिट गर्दा प्रयोग गरिने दुई सय लिटरको टिनको खाली केमिकल ड्रम ३५ वटा, टिनले बारेको ६/६ मिटरको टिनको तीन वटा पोस्ट घरसहित बगाउँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यो ड्याम साइटमा भारतीय जेपी एसोसियट कम्पनीले काम गरिरहेको छ । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना भारतीय सरकारी जलविद्युत् कम्पनी सतलज एसजेभीएन कम्पनीले निर्माण गरिरहेको छ ।

२०७५ साल वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर आयोजनाको शिलान्यास गरेका थिए । त्यसयता आयोजनाले कामलाई तीव्रता दिँदै आएको छ ।