नू को अनुरोध प्रेमिलाइ ! जात ब्यब्स्थाको बिरुद्द बोल,बोल्नु पर्छ :रुप रसाईली बिस्वकर्मा

बाबा!
आजको यो मानवता हराएको समाजमा न्याय खोज्नु भनेको आफ्नो जालमा आफैँ पर्नु हो। सदियौंदेखि रहेको वर्ण व्यवस्थाले आजको युगसम्म विभेद र छुवाछुत भोगिरहेका छौँ। अझ कति युग-युग रहन्छ त्यस्तो लेखाजोखा छैन। विभेद र छुवाछुतलाई हामी कति पुस्तासम्म पुस्तान्तरण गर्ने हौँ यो प्रश्न आफैलाई सोधौँ? विभिन्न कालखण्डमाराजनीतिक परिवर्तन भए, आज त सिंहदरबार गाउँ-गाउँमा पुगेको छ भन्छन्। खै त, हामीले बाँच्ने अधिकार गाउँ-गाउँ गएको?

रुकुमको घटनानुसार प्रेम गरेको र प्रेमिकाको जात नमिल्ने भनी प्रेमी पक्षले भगाउन खोज्दा ६ जनाको अकालमा ज्यान गयो। तिनीहरूका परिवार र ती आमाहरूका कोख रित्तो हुँदा कति पीडा भएको छ होला त्यो कसले नजरअन्दाज गर्न सक्छ । गाउँ पूर्णरूपमा टुहुरो भएको छ, शोकमा डुबेको छ त्यहाँको परिवारलाई साहानुभूति दिनु पर्ने ठाउँ हो। तर, समाजका शासक वर्ग अझै विविध प्रश्न गर्छन्। जातियकरण गरियो भन्दै, प्रतिकार गर्छन्। उनीहरूलाई लाज छैन है अझै। ती अरू परिवारका भए एउटा केटी भगाउन जाँदा यति ठुलो घटना घट्दैन थियो। त्यो त दलित भनेरै गरिएको जघन्य अपराध हो।

त्यति ठुलो हुल किन अर्काको गाउँमा जानु? हो, किन जानू तर पहिलै नै एकचोटी भगाइसकेको तर केटी पक्षकाले नमान्दा पुलिससम्म जाहेरी हुन्छ, उमेर पुगेन भनी छोडिन्छ। अब के उमेर पुगेपछि बिहे गर्न मिल्छ नै भन्ने कहाँ छ र? चेलीबेटीलाई आँखा लगायो रे अर्काको गाउँमा आएर। त्यो गाउँमा पुलिस छैन? कानुनी दायरामा जान सकिन्न? मान्छेको मृत्यु भयो न्याय पाए त? यो घटना नरसंहारकारी छ, निन्दनीय छ, शब्दले पुग्दैन।

दलित वर्गले कथित उपल्लोका छोरी चेली बिहे गर्दा बाहुन-क्षेत्री भनेर गाली गरेको ज्यान लिएको कहाँ छ र? जातको कुरा नल्याऊ त भन्छन् , जात भएकै कारण छुवाछुत गर्छन् अनि कुरा के को गर्ने हो? आरक्षण दियौँ भन्दै विरोध गर्छन्। आरक्षण राज्यले दिएको कि एउटा वर्गले? आरक्षण दिएर विभेद भएको हो कि विभेद भएर आरक्षण दिएको हो। उनीहरूका घैँटामा घाम कहिले लाग्ने होला।

बाबा, त्यसैले यो एक परिवर्तन गर्ने बेला हो । न्यायमात्रै खोज्ने होइन, यसको दीर्घकालीन उपाय खोजौँ हामीले। आज थाहा भयो नि जसरी सिमा विवादमा सारा नेपाली एकजुट छन्। कोही कसैले चुइँक्क बोले कसैले राष्ट्रघाती भन्दै विरोध गरिन्छ। यति ठुलो घटनालाई पनि अझ ढाकछोप गर्न खेल मैदानमा गएको खेलाडीको गोलको रक्षक भएका छन्। यो कथित उपल्ला जातीहरूलाई के समाज भडुवा भन्ने कि के विश्वास गर्दै नगरौँ।

बाबा हजुर बोल्नू, लेख्नू । दलितका अगुवा, नेता, पत्रकार, लेखक, कलाकार उच्च ओहोदामा पुगेकाहरू तिमीहरू त बोल। तिम्रा मुखमा पट्टि नबाँध। कलम चलाइराख। डटेर चलाऊ, नडराऊ। तिमी नै डराए कसले बोलिदिने हो? सामाजिक सञ्जाल फेसबुकमा मात्र वादविवाद गरेर न्याय पाइँदैन। यहाँ त झगडा मात्रै छ। आज किन विद्यार्थी भातृ संगठनबरू बोल्दैनन् ? किन सत्ता पक्षका पार्टीका नेता बोल्दैनन्? किन कलाकार बोल्दैनन्? किन लेखक बोल्दैनन्? किन अरू सामाजिक सङ्घसंस्था बोल्दैनन्? किनकि त्यहाँ ती उपल्लाहरूको पद निर्णय लिने ठाउँमा छ दलित समुदायको छैन।

अरू बेला माइतीघर हल्लाउने आज कहाँ कुन दुलोमा पसेछन्। एक दुई जना दलितका युवा गएर मात्रै विरोध गरे। निर्मला प्रकरणमा के उनीहरू मात्रैले विरोध गरे? के त्यसको सहयोग समर्थन कुन दलितले गरेका छैनन् र? खुलेर कुनै उपल्ला जातिका मान्छे रोडमा आउँदैन दलितको लागि। किनकि उनीहरूले हामीलाई मानवभित्र राखेका नै छैनन्। किन गरून् किनकि यी हामीलाई दलित भनेरै हेर्न चाहान्छन् दबाब नै दिन चाहन्छन्।

राज्यको पहुँच पुग्ने ठाउँमा हाम्रो उपस्थित छैन। बाबा, यी उपल्ला भनाउँदाहरू बोलेर न्याय पाइँदैन थाहा भइसक्यो। जसरी आज दलितको छोरो मर्दा सारा साठी लाख दलित निन्दा गर्छन् तर ती उपल्ला जाती त्यस्तो खण्डन गर्छन् सामाजिक सञ्जालमा। अब हामीले यिनीहरूको आस गर्ने होइन। हाम्रा वर्गको मान्छेहरू, तिमी बोल। तिम्रो बोलिले पीडितलाई अपनत्वको भाव आउने छ। आज जसरी आन्दोलन गरिरहेका छन्। हाम्रै जातिका विरोध गरिरहेका छन्। उनीहरू गरिराख्छन् यसले पनि अवसरको खोजी बन्न सक्छ।

दलितका मुद्दा लिएर कति सङ्घसंस्था च्याउ उम्रे जसरी उम्रेका छन्। नतिजा शून्य छ। जसरी अस्ट्रियाका राजकुमार आर्क्ड्युक फ्रान्सिसको र राजकुमारी स्वफियाको हत्याको कारणले सर्बियामाथि हमला गरी प्रथम विश्व युद्धको प्रारम्भ भयो। परिणाम स्वरूप दोस्रो विश्व युद्ध भयो। आज कति परिवर्तनको फड्को मारी सक्यो त्यो इतिहास साँची नै छ नि। त्यसैले एक युद्ध, लडाइ र आन्दोलनको कारण बनोस् र मात्र परिवर्तन आउँछ। ती युवाको आत्माले शान्ति पाउँछ। इतिहासको पानामा तिनीहरूको नाम पुस्ता-पुस्ताले लिइरहनेछ।

समाज विकसित हुँदै गयो र शिक्षित भए भने बराबरी हुन्छ, परिवर्तन आउँछ। आज थाहा भएन त उपल्ला जाती झन् दबाउन खोज्छन्। कोही चुइँक्क बोल्दैनन्। किन बोलुन् सब सामाजिक सञ्जालमा झन् चर्को आलोचना गर्छन्। यिनीहरूको सोच प्रवृत्ति बदलिएको छैन। यिनीहरूको बौद्धिकता कुन फेदोमिटरले नाप्ने होला। राज्यका पहुँचका मान्छे होऊन् या हजुर बोल्नू बोलिराख्नू बोल्नैपर्छ ।