कविता-मृतकको अनुभूति :अहमद साहिल

मलाई जुरूक्क उठ्नुछ !
मेरो चिहानबाट

र एकटक हेरिराख्न मन छ,
यो मृत संसारलाई एकपटक
पुनः

म पछि,
को को ठहरै मरे ?
कति प्राणहरू शेष ?
अन्तिम स्वास फेरिरहेका छन्

कस्का लागी ?
बन्दोबस्त मिलाईदैछ समसानघाट परिसरमा,
म समाप्त भए पश्चात् नै !

यी सब,
तथाकथित भाग्यमानीका अनुहार
म एकपटक अवलोकन गर्न चाहन्छु

खरानी बनि,
अन्तरिक्ष तिर स्पष्ट भागिरहेको
यो धुलो !
कस्को समाप्तिको दस्तावेज हो ?
पख, मलाई एकाग्र भई,
यसो तत्त्व-चिन्तन गर्न देऊ !

मलाई पहिचान गर्नुछ –
ती सबै मलामीहरूको,
ज-जसलाई मेरो अन्त्येष्टि संगै
सुखद क्षणको अनुभूति भयो होला !

मृतक भएको नाताले,
मलाई जीवित व्यक्तिहरूको प्रकृति बुझ्नुछ ।

– अहमद साहिल