दैलेखको महाबु गाउँपालिकाद्धारा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार आर्थिक सहायता


नारायण रिजाल
दैलेख :दैलेखको महाबु गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई दाहसंस्कार र किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भिजन न्युज नेपाललाई बताएकाछन । कोरोना संक्रमणबाट ज्यान गुमाएका गाउँपालिकाबासीलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराइने अध्यक्ष शाहीले बताए ।

गाउँपालिकामा दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट ६५ जनामा संक्रमण पुष्टि भईसकेको छ । दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै गाउँपालिकाले अक्सिजन सहितको २५ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको अध्यक्ष शाहीले बताए । ‘हामीले गाउँपालिकाबाट सबै वडामा स्वास्थ्यकर्मी पठाएर नागरिकहरुको निशुल्क कोरोना परीक्षण गरेका छौँ,’ अध्यक्ष शाहीले भने ‘कोरोना संक्रमितहरुलाई निशुल्क उपचार भईरहेको छ ।’
अध्यक्ष शाहीका अनुसार कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गर्दै एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।गाउँपालिकाले बुधवार मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।