नेपाली फ्यानलाई फुटबल प्रशिक्षकले भने- नतिजा राम्रो नआए मेरो दोष

काठमाडौं :नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन् । सामाजिक सञ्जालमा प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाली फुटबल टिमको नतिजाको जिम्मा आफूले लिने उल्लेख गरेका हुन् ।

नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेल खेल्न इराकमा छ । त्यसपछि नेपालले कुवेतमा गएर विश्वकप छनोटका ३ खेल खेल्नेछ ।

‘हामी नयाँ मानसिकता र सिस्टम प्रयोग गर्दैछौं । र यसको असर सुरुमै देखिन कठिन हुन्छ । त्यसैले अहिले उनीहरु (खेलाडी)लाई धेरै दबाब नगर्नुस् । हामी यहाँ उज्ज्वल भविष्यका लागि छौं,’ अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘यदि नतिजा हाम्रो पक्षमा नआए, मलाई दोष लगाउनुस् खेलाडीलाई होइन ।’

उनले सबै समर्थकलाई खेलाडी र नतिजाप्रति धैर्य राख्न समेत आग्रह गरेका छन् ।

गत चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका प्रो लाइसेन्स प्राप्त अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्दैछ । शनिबार नेपालले फिफा वरियतामा ६८ औं स्थानमा रहेको इराकसंग उसैको मैदानमा खेल्दैछ । यस खेलबाट कुवेतमा खेल्नको लागि फाइदा लिने अलमुताइरीले बताइसकेका छन् ।

इराकसँग खेलेपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ । विश्वकप र एसिया कपको संयुक्त छनोटको दोस्रो चरण खेलिरहेको नेपालले समूह बी मा ३ खेल खेल्न बाँकी छ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।