विरगंजमा सर्जिकल हाउसका कर्मचारीलाई डिएसपीले कुटेको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं :पर्सामा प्रहरी नायब उपरीक्षक (डिएसपी) ले सर्जिकल पसलभित्र गएर कर्मचारीमाथि कुटपिट गरेको घटनामा छानबिन हुने भएको छ।घटना बाहिरिएपछि बिहीबार प्रदेश नम्बर २ प्रहरी कार्यालय, धनुषाले छानबिन गर्न समिति गठन गरेको हो।

बुधबार बिहान सवा १० बजे वीरगन्ज उपमहानगरपालिका-८ स्थित प्याथो सर्जिकल हाउसमा कार्यरत २१ वर्षीय अफ्रोज अहमदमाथि डिएसपी प्रह्लाद कार्कीले कुटपिट गरेका थिए। पसल बन्द गराउनेक्रममा अहमदले भिडिओ खिचेको भन्दै डिएसपी कार्कीले पसलभित्रै गएर कुटपिट गरेका थिए।

‍डिएसपी कार्कीले अहमदमाथि कुटपिट गरेको भिडिओ बुधबार राति बाहिरिएको थियो।कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो।

कार्यालयले विज्ञप्ति जारी गर्दै यस घटनामा सम्बन्धमा अनुसन्धान सुरू गरेको र प्रहरी दोषी देखिएमा नियामावली बमोजिम कारबाही गर्ने भनिएको छ।

कुटपिटबाट अहमदको हात-खुट्टामा निलडाम बसेको थियो। उनको फोन पनि प्रहरीले खोसेर लगेको थियो।