सगरमाथा क्षेत्रमा बाक्लो हिमपात भएपछि, दोस्रो शिविरमा रोकिए एक सयभन्दा धेरै आरोही


भिजन न्यूज संवाददाता
सोलुखुम्बु :सगरमाथाको दोश्रो शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी रोकिएका छन् । हिमपातका कारण दोश्रो शिविर अर्थात् ६ हजार चार सय मिटरको उचाइमा उनीहरू रोकिएका पर्यटन विभागको आधार शिविर सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी एकाछन ।

आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका र उनीहरू दोश्रो शिविरमा अड्किएका उनले बताए । मौसम खराबीका कारण उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि जान सकेको छैन । अहिले आरोहीहरू सुरक्षित रहेकाले मौसम सुधार नभएसम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको उनले बताए ।

बङ्गालको खाडीमा सुरु भएको ुयास्ु नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दोश्रो शिविरमा आइपुगेका आरोही र सहयोगीहरू मौसम अनुकूल हुने पर्खाइमा रहेका सम्पर्क अधिकृत गौतमले बताए।

उनका अनुसार आरोहण सम्पन्न गरेका कतिपय टोलीले मौसम खराब भएकाले दोस्रो शिविरमा रहेका आफ्ना सरसामान तल झार्न सकेका छैनन् । गौतमले सगरमाथा आरोहण गरी फर्किने क्रममा कतिपय आरोहीहरू घाइते भएको तर खराब मौसमका कारण उनीहरूलाई उद्धार गरी काठमाण्डौ पठाउन नसकिएको बताए ।

यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।

साभार उज्यालेबाट