पाल्पामा लायन्स क्लबहरुले गरे दशै स्थानीय तहमा अक्सिजन सिलिण्डर सहयोग

भिजन न्यूज संवाददाता
पाल्पा :हामी सेवा गर्छौ भन्ने उदेश्य स्थापना भएका पाल्पाका लायन्स क्लब र एन आर एन कंगोको सहयोगमा अक्सिजन सिलिण्डर वितरण गरिएको छ । पाल्पा अस्पतालसंगै जिल्लाका दशै स्थानीय तहहरुमा रिफिलिङ गरिएको अक्सिजन सिलिन्डर वितरण गरेको क्लबहरुले जनाएका छन् ।

अहिले स्वास्थ्य समस्या परेको समयमा हामी छौ अभियान अन्तर्गत सबैको सहयोगमा अक्सिजन सिलिण्डर सहयोग गरेको एरिया सह संयोक शसी श्रेष्ठले जानकारी दिइन् । सहयोग कार्यक्रममा एरिया संयोजक सन्दीप कसौधन र एन आर एन कंगोका प्रतिनिधि अमृत छेत्रीबाट १ सय र पाल्पामा रहेको ८ वटा क्लब र दाताहरुबाट दुई सय ५२ गरि तीन सय ५२ वटा सिलिन्डर संकलन गरि वितरण गरिएको थियो ।

संकलन गरिएका मध्य पाल्पा अस्पतालमा एक सय ७ थान, तानसेन नगर पालिकालाई ५० थान तथा युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई ३०/३० थान सिलिण्डर वितरण गरिएको थियो । यस्तै रामपुर नगरपालिका, निस्दी, पूर्वखोला रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, बगनासकाली, र माथागढी गाउँपालिकालाई १५/१५ थान सिलिण्डर वितरण गरिएको पाल्पा लायन्स क्लबका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए ।

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पान्डेले विश्व नै महामारीमा फसेको समयमा अक्सिजन सहयोग गरेकोमा एन आर एन कंगोका प्रतिनिधि तथा लायन्स क्लबका सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । यस्तै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेको अध्यक्ष पाण्डेले बताए ।