अनिलको राष्ट्रिय टिममा गज्जबको पुनरागमन, लगातार दोस्रो अर्धशतक पूरा

काठमाडौं : अनिल साहले राष्ट्रिय क्रिकेट टिममा गज्जबको पुनरागमन गरेका छन् । २०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका छन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् । अनिलले दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेर धमाकेदार सुरुवात गरेका थिए ।

उनको अर्धशतक मद्दतमा नेपालले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८३ रन बनाएको छ । यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए ।

एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।