महारुद्र परिवार फाउन्डेसनले पशुपतिमा विश्वशान्ति महायज्ञ गर्दै

काठमाडौं : हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ ।

शिवरात्रीक‍ो अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रम हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिनेछ ।

साथै प्रवचन, दैनिक हवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका गुरुहरु एक सातासम्मै उपस्थित रहनेछन् ।

हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउनुहुन्छ । “हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुल जाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ ।” अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने उहाँ बताउनुहुन्छ । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्त्व रहेको उहाँको भनाई छ ।

यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत बताउनुहुन्छ । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यो पवित्र र महत्त्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उहाँको भनाई छ ।