औषधि उत्पादन गर्न निर्देशन,पैसाको छैन जोहो

काठमाडौं: नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले अर्थ मन्त्रालय धाउन थालेको चार महिना भयो । तर २० वटा औषधि उत्पादन गर्न उनले मागेको २५ करोड रुपैयाँ ऋण पाएका छैनन् ।

उनै पनेरुसहित नेपाल औषधि लिमिटेडका अधिकारीहरुलाई २९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार बोलाए । प्रधानमन्त्रीले नेपाल औषधि लिमिटेडको अहिलेको अवस्थाबारे सोधे । उनीहरुले तत्कालीन मुख्यसचिवको नेतृत्वमा भएको निर्णय कार्यान्वयन भएको गुनासो गरे ।

नेपाल औषधि लिमिटेडलाई दिगो रुपमा सञ्चालन गर्न ३० चैत २०७९ मा प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा स्वास्थ्य र उद्योग मन्त्रालय, औषधि लिमिटेडका प्रतिनिधि रहेको समिति बनेको थियो ।

समितिले १५ वैशाख २०८० मा औषधि लिमिटेडलाई ऋणको रुपमा २४ करोड ७८ लाख १२ हजार ३ सय ८४ रुपैयाँ दिन र उत्पादित औषधि बिक्री वितरण गर्न अर्थ, स्वास्थ्य र उद्योग मन्त्रालयबीच समझदारी गर्नुपर्नेसहित ६ बुँदे सुझाव दिएको थियो ।

पाँच दिनपछि तत्कालिन मुख्य सचिव शंकरदार बैरागीले सिफारिस कार्यान्वयनका लागि उद्योग र अर्थ मन्त्रालयलाई पत्र लेखे ।

उद्योगले फाइल उठाएर असोजमा अर्थ मन्त्रालय पठायो । तर अर्थले रकम निकासा गरेको छैन । प्रधानमन्त्रीसँग भएको छलफलमा औषधि लिमिटेडका अधिकारीहरुले अर्थ मन्त्रालयबाट रकम निकासा नहुँदा औषधि उत्पादन प्रक्रिया अगाडि बढाउन नसकिएको बताए ।

उत्पादित औषधिलाई जिटूजीमार्फत स्वास्थ्य मन्त्रालय अन्तर्गतका सामान खरिद गर्ने निकायले किन्नुपर्ने र कुशल औषधि उत्पादन अभ्यास (जीएमपी)को लाइसेन्स छिटो दिनुपर्ने बताए ।

करिव आधा घण्टा चलेको छलफलको अन्त्यमा प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए, ‘तपाईंहरुले उत्पादन गर्न सुरु गर्नुहोस् । मैले निर्देशन दिनुपर्ने कुराको फलोअप गर्छु ।’

तर प्रधानमन्त्रीको निर्देशनअनुसार २० थरिका औषधि उत्पादन सुरु हुनेमा संशय छ । ‘उद्योग मन्त्रालयबाट असोजमा फाइल उठाई अर्थ मन्त्रालय पठाइएको थियो, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन’, महाप्रबन्धक पनेरु भन्छन्, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले भने २० थरि औषधिको उत्पादन सुरु गर्न लागिएको भनेर बोल्नु व्यवहारिक भएन नि !’

उनका अनुसार सरकारले पहिलो चरणमा ५ करोड रुपैयाँ मात्रै दिने हो भने ६ महिनामित्र २० थरिका औषधि बजारमा पठाउन सकिन्छ । तर अहिलेसम्म अर्थ मन्त्रालयले रकम निकासा गर्ने छाँटकाँट देखाएको छैन ।

‘अर्थमन्त्रीलाई तीन–चार पटक भेटिसकेको छु । औषधिको उत्पादन र विस्तारको व्यवसायिक योजना पनि पेश गरिसकेँ’, पनेरुले भने, ‘तर घाटामा रहेको औषधि लिमिटेडलाई पैसा दिनु बालुवामा पानी हालेसरह हो, पैसा लगेर खानुहुन्छ भन्ने जवाफ दिनुहुन्छ ।’