धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई मन्दिर

  तनहुँ : तनहुँको भानु नगरपालिका -७, वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेदेखि पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मंगलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ ।

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले बताए । यहाँ विशेष गरी मंगलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् ।

अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भने,‘मन्दिरमा विशेष गरी कार्तिक र मंसिरको मंगलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कार्तिकमा बडा दशैं र तिहार पर्दा कार्तिकमा कम डोली भित्रियो ।’

प्रत्येक वर्ष कार्तिक, मंसिर, माघ र फागुन महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनहरुले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणहरुको भीड लाग्ने गर्दछ ।

मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ ।

मन्दिरमा साउन महिना, एकादशी र औंसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । समुद्र सतहबाट १ हजार २ सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।