बर्बादीतर्फ दौडिरहेको मुलुकलाई नेपाली जनताले जोगाउन सक्लान् ?

आफ्नो जन्मथलोको माया सबैलाई हुन्छ, चाहे त्यो पशु नै किन नहोस् । खसीबोका नै भएपनि तिनीहरु आफू पालिएको ठाउँ छोडेर जानुपर्दा आँखाबाट आँशु झार्छन् । तर, मानव नै भएपनि नेपाली कठ्ठर छन् । उनीहरुलाई आफ्नो मातृभूमि र जन्मथलोको अलिकति पनि माया छैन् । राजनीतिक दलहरुले देश सकाइसकें । मुलुक बर्बादीतर्फ दौडिरहेको छ । यद्यपि, कुनै राजनीतिक दलको त कुनै राजाको कार्यकर्ता भएर बसेका छन् ।

सबैको नागरिकतामा नेपाली उल्लेख छ । कसैको नागरिकतामा पार्टीको कार्यकर्ता भनेर लेखिएको त छैन् । भूपू राजा ज्ञानेन्द्र, राजनीतिक दलका नेताहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत सबैले नेपाली लेखिएको नागरिकता नै लिएका छन् । जति पनि सरकारी कर्मचारी छन्, तिनले पनि नेपाली नागरिक भएकै आधारमा जागिर खाएका छन् ।

यिनीहरु नेपाली हुँदा देशलाई ठूलो ‘घात’ भएको छ । नेता र सरकारी जागिरे भनाउँदा यिनीहरुले देश बेच्न लागे । देश सकिसक्यो भन्ने कुरा नेपाली जनतालाई थाहा छ । तर, कार्यकर्ता बनेर हिँडेकाले यो कुरा देख्दैनन् । महाबौद्ध, इन्द्रचोकमा भारी बोकेर हिँड्नेहरु देश सकिसकेको दुःखेसो पोख्छन् । देशलाई तहसनहस बनाएको भन्दै उनीहरु भक्कानिन्छन् । कार्यकर्ता र सरकारी जागिरेलाई त के छ ? जति चुप लाग्यो, त्यति खान पाइने ।

देश लुट्न पाइने । श्रीलंकाको अवस्था सबैले देख्यौं । त्यहाँ आर्थिक मन्दी भएपछि सबै जनता सडकमा ओइरिए । कोही पनि पार्टीको कार्यकर्ता भएर बसेनन् । राष्ट्रपतिलगायतका उच्च पदस्थलाई देशबाट लखेटें । आज श्रीलंका माथि उठ्दै छ । श्रीलंकाका लागि आर्थिक मन्दी परिवर्तन बन्यो । नेपालको अवस्था नाजुक बनिसकेको छ । तर, कोही चुइक्क बोल्दैनन् ।

मंसिर ७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ सडकमा आयो । युवासंघको एजेण्डा मँहगी, भ्रष्टाचार, बेतिथि थियो । तर, आन्दोलनमा आम नागरिक सहभागी भएनन् । किन कि महेश बस्नेत आफैं भ्रष्टाचारी हो । भ्रष्टाचारीले भ्रष्टाचारको विरोधमा बोल्न सक्छ ? उनको चर्चामा आउने यो ‘स्टण्टबाजी’ सबैले बुझेका थिए । दुर्गा प्रसाईंले आन्दोलनको आह्वान गरे ।

उनले शुरुमा उठाएका विषयहरु ठिकै थियो । सबैले उनको आन्दोलनले केही परिवर्तन ल्याउला, राज्यको आँखा खुल्ला भनेर सोचेका थिए । तर, अन्तिममा उनी पनि पूर्वराजा ज्ञानेन्द्रको झोले बनिदिए । उनको आन्दोलनको आगो सल्किन नपाउँदै निभ्यो । यहाँ सबै जना आफ्नो फाइदा हेर्ने मात्रै हुन् । जता फाइदा हुन्छ, त्यतै ढल्किन्छन् । देशमा यत्रा बुद्धिजीवी छन् ।

नागरिक समाज छ, उपभोक्तावादीहरु छन् । आफूलाई राष्ट्रप्रेमी भन्दै हिँड्नेहरु यहाँ असख्य छन् । तिनीहरु अहिले कहाँ छन् ? किन केही बोल्दैनन् ? वास्तवमा भन्ने हो भने, नागरिक समाज, उपभोक्तावादी, राष्ट्रप्रेमी भनिएकाहरु पनि राजनीतिक पार्टीका झोले हुन् । देश कुन अवस्था छ ? आम सर्वसाधारण कति पीडामा छन् ? कसैलाई थाहा छ । माइतीघर मण्डलामा दिनहुँ आन्दोलन भइरहन्छ ।

मीटरब्याज पीडितदेखि लिएर सहकारी पीडित माइतीघर मण्डलामा अनशन बसे । राष्ट्रपतिले आममाफी दिएका ‘हत्यारा’ लाई पुनः थुनामा पठाउन माग गर्दै माइतीघरमा धर्ना दिए । डाक्टर गोविन्द केसी पनि पटकपटक अनशन बसे । तर, देशको लागि अनशन बस्नेचाँहि कोही भेटिएनन् । नेताहरु त आफ्नो व्यक्तिगत स्वार्थको पछाडि लागे भने जनताको हकमा पनि त्यही नै छ ।

देश बेच्न पाइँदैन् भनेर किन कोही बोल्दैनन् ? विदेशी ऋण २७ खर्ब रुपैयाँ नाघिसकेको छ । एक जना नेपालीको टाउकोमा लाख रुपैयाँ ऋणको भारी छ । नपढेकालाई पनि विदेशी ऋण तिर्न नसक्नेबित्तिकै नेपाल विदेशीले लिन्छ भन्ने कुरा थाहा छ । नत्र नेपाललाई कालोसूचीमा हालिदिन्छ । २७ खर्ब ऋण कहाँ गयो ? कहीँ–कतै विकास भएको छैन् । जनताको अवस्था ज्यूँको त्यू छ ।

विदेशीबाट ऋण ल्याउँदै ‘मोजमस्ती’ गर्ने त नेता र सरकारी कर्मचारी हुन् । अहिले पनि कतिपय ठाउँमा अस्पताल पुगेको छैन् । उपचार नपाएर ज्यान फाल्नुपर्ने पीडादायी अवस्था अझैपनि छ । सरकारले यत्रो ऋण ल्याएर के गर्यो ? जनतालाई कुनै अत्तोपत्तो छैन् । खाने बेलामा नेता र सरकारी कर्मचारीले खाए, ऋण बोकिदिनुपर्नेचाँहि जनता ! जनताहरुले यसको प्रतिरोध गर्न आवश्यक भइसकेको छ ।

अभिभावकले घरमा पालेको खसीबोका बेच्न लाग्यो भनेपनि बालबच्चा रुन्छन् । केही महिना पालेको खसीबोकाको त त्यति माया हुन्छ भने यो त देशको कुरा हो । नेपालीहरु यही जन्मे, हुर्के, बढें । नेताहरुले देश बेच्न लागिसकें । तैपनि सबै मौनधारण गरेर बसेका छन् । जनता कर तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । राज्यको ढुकुटीमा राजश्व आउन कम भइसकेको छ ।

यता, सरकारी खर्च भने बढेको बढ्यै छ । सरकार खर्च कटौती गर्दैन्, आम्दानी हेर्यो भने शून्य छ । विदेशी ऋण अब घट्ने होइन्, बढ्दै जान्छ । एकाध वर्षमा ऋण दोब्बर हुन्छ । मुलुकमा कलकारखाना, उद्योग केही छैन् । भएको पनि कमिशनका लागि बन्द गरिहालें । रोजगारी छैन् । अहिले सबै पार्टी मिसन ८४ को अभियानमा लागेका छन् । पहिलो कुरा त २०८४ सालमा नेपाल रहन्छ कि रहँदैन् ? यो हेर्नुपर्यो नि ।

बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेर नेपालीहरुले आत्महत्याको बाटो रोजिरहेका छन् । सम्बन्धविच्छेद गर्नेहरुको संख्या बढेको छ । सरकारले नेपाली जनशक्तिलाई धमाधम विदेश पठाइरहेको छ । माध्यमिक शिक्षा पूरा गरेकाहरु ३० लाख रुपैयाँ खर्च गरेर अमेरिका र अष्ट्रेलिया पुगेका छन् । अलिक कम पढलेख भएका र आर्थिक अवस्था कमजोर भएकाहरु खाडी छिरिरहेका छन् ।

यहाँचाँहि कुनै भत्ता खाने छन् । कुनै पेन्सन थापेर बसेका छन् । कुनै पार्टीको झोले छन् । देश नेपाल तर नेपालीचाँहि छैनन् । देशको आर्थिक अवस्था कोहीबाट लुकेको छैन् । तैपनि लाखौं रुपैयाँ भाडा उठाउनेहरु, छोराछोरी अमेरिका, अष्ट्रेलिया भएकाहरु लाज पचाएर भत्ता लिन वडा पुग्छन् । काठमाडौंमा घर छ, तर भत्ता लिन छोड्दैनन् । सरकारले भत्ता कसरी दिइरहेको छ ? कसैलाई मतलब छैन् ।

महिनैपिच्छे भत्ता र पेन्सन आए पुग्छ ? महिना पुग्नेबित्तिकै बैंक पुग्छन्, पेन्सन आएको छि कि छैन् भनेर । सरकार पनि त्यस्तै छ, ‘नालायक’ । आम्दानीले थेग्न नसक्ने भएपछि खर्च कटौती गरिन्छ । घर र राष्ट्रको हकमा एउटै हो । तर, नेपाल सरकार उल्टो गतिमा हिँडेको छ । यस वर्षको दशैंमा विदेशीबाट ऋण ल्याएर भत्ता, पेन्सन र दशैं पेश्की दियो । जनप्रतिनिधि कर्मचारी हुन् ? उनीहरु जागिर खान आएको कि जनताको सेवा गर्न ?

यिनीहरु पनि तलबभत्ता खाने र सरकारी गाडी चढ्ने भए । भूपू पनि राज्यको ढुकुटी लुट्ने, बहालवाला पनि राज्यको ढुकुटी लुट्ने । अनि कहाँबाट देश उभो लाग्छ ? बुढोपाकाले भन्छन्,‘रुखमूनिको बाली कहिले फल्दैन्, ऋण लिने मान्छे कहिले उभो लाग्दैन् ।’ यो कुरा सरकारले कहिले बुझ्ने ? ऋण लिनका लागि धितो राख्नुपर्छ । सरकारले नेपाल धितो राखेको छ ।

ऋण तिर्न सकेन् भने देश त लिलामीमा चढ्छ । सरकारी कर्मचारीहरु त लाज पचेका भइहाले । उनीहरु त जागिर खान आएका । महिनैपिच्छे तलब चाहियो, तिनलाई । वडाध्यक्ष, मेयर, सांसद, भूपू राष्ट्रपति, प्रधानमन्त्रीहरुले तलब, भत्ता छोडिदिए पनि केही आर्थिक भार त कम हुन्थ्यो । जनताले आफूहरुको खर्च पूर्ति गर्न नसक्ने भएपछि यिनीहरुले आफूखुसी ऋण लिएर मनोमानी गर्न थालें ।

देशका प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत, गर्भनर महाप्रसाद अधिकारीले अझैपनि जनतालाई भुङ्ग्रोमा राखिरहेका छन् । राज्य सञ्चालकहरु देशको अवस्था लुकाउन लागिपरेका छन् । त्यसैले अब जनता आफैं जागरुक हुनुपर्ने बेला भएको छ ।

अनुसा थापा
भक्तपुर