रास्वपा सभापति रवि लामिछाने आज मलेसिया जाँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्।लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम सह-प्रवक्ता रावलले बताइन्।

उनी कतारबाटै बेलायत जानेछन्। सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उप-सभापति डोलप्रसाद अर्याललाई दिइएको छ।

भ्रमणमा सभापति लामिछानेसँगै सह-महामन्त्री कविन्द्र बुर्लाकाटी र सह-कोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन्।