अपाङ्गता भएका व्यक्तिहरूको ३२ औं अन्तर्राष्ट्रिय दिवस मनाईंदै

काठमाडौं: अपाङ्गता भएका व्यक्तिहरूको ३२ औं अन्तर्राष्ट्रिय दिवस मनाउने संदर्भमा आज राजधानिमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सो ३२ औं अन्तर्राष्ट्रिय दिवस के कसरी मनाइदैछ भन्ने सम्बन्धमा जानकारी दिनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सो पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा दिईएको जानकारी अनुसार यहि डिसेम्बर ३ तारिख अर्थात मंसिर १७ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा विहान ८ बजे भद्रकाली देखि भृकुटीमण्डप सम्मको प्रभातफेरी तथा त्यसपछि भृकुटीमण्डपमा वृहत सभाको आयोजना गरिने कार्यक्रम रहेको छ । ३२ औं अन्तर्राष्ट्रिय दिवसलाई साताभरि नै विभिन्न संघसंस्थाहरूको पहलमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको पनि जनाइएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष देवीदत्त आचार्य, बरिष्ठ उपाध्यक्ष राम बहादुर कार्की, महासचिव सुगम भट्टराई, प्रवत्ता रमेश पोख्रेलको अगुवाईमा सम्पन्न सो पत्रकार सम्मेलनमा वत्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका बारेमा सबै पक्षको ध्यानाकर्षण गराउन तथा वर्षभरि नै अपाङ्गताका बारेमा सबैतिर आवाज उठोस भन्ने उद्धेश्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औं अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय मूल नारा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने रहेको छ । यस नाराले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबैले क्षेत्रले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा पहल गर्न प्रतिबद्ध हुनका लागि आग्रह गर्दछ ।