आमाकाे अपुराे सपना 

आमा,
त्याे ! यही हाे र ?
खै ! बा, अलमल्ल छु ।।
मेरा सन्तानले
रातमा राँकाे बाेकेर
उज्यालो खाेजेर
बिहानी पख जुन सूर्य बाेकेर
ल्याए थ्ये ।।
अहिले
त्याे सूर्य अपहरण भई
दलकाे घिन लाग्दाे मलले
ओतप्रोत भई
अँध्याराे रून्चे टालाेमा बन्दकी छ ।
त्यसकाे कम्मरमा
शीतजस्तै टल्कने त्याे मैले सपनामा देखेकाे हतियार
राताे रङ्गमा लत्पतिएर तिम्लाई चिर्दै ठूलै घाँटीले चुस्दैछ ।
मानाै!!
उडुस भएछ, सुत्न दिँदैन ।
डेङ्गु भएछ, स्वस्थ हुन दिँदैन ।
उपिया भएर शरीरभरि लट्पटिएकाे छ ।
तर,
कन्याउँदा उसँग ३०८ अनाैठा बहत्तरे दाम्ला छन् ।
आफ्नै उसका अदालत छन् ।
जे ओकाल्छन् , त्यही वकालत हुन्छन् ।

त्यति बेला सपनामा त्याे अधर्मसित लडेकाे देखेथेँ ।
बा!!
तर ,
देख्दैछु, धर्म पर …. छ ।
अधर्म वरपर छ ।।
त्याे हिउँ र आगाेभन्दा बढी छाेइने भएरै
आएथ्याे तिमीमाझ आउन त ।
तर
” बाठाले लाटालाई पापा ”
छले , बा !
आफ्नै गाेजामुनि राखे ।
तिनलाई मात्र छाेयाे ।
तिनले मात्र महसुस गरे ।

हो र आमा !!

“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ ।
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो यिनी नै हाेलान् भन्ने
मेरो यौवनभरीको सपना थियो !
फेरि, पनि
झुक्किएँ बा…….
मलाई झुक्कायाे ,
मेराे काेखले ।
मेराे आशावाला जेठाे छाेराेले ।

मेराे दुधकाे धारा
सानेले पाएन, सानीले पाइने
सक्किसक्याे ।
मभित्रकाे दूध
रगत पनि चुस्दैछन् ,
पिपासुहरूले ।
अय्या..दुख्याे बा दुख्याे ।।

अँझ बाेल्छु ।
जे होस् त्यो आउँछ ।
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु ।
त्यो आउँछ ।
तर,
अलि-अलि डर लाग्छ ।।
कतै फेरि झुक्किने
पाे !
हुँ , कि ?

तर,
विश्वास छ, तिम्राे ।
तिमी एक-एक प्रत्येकको ।।

मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ ।
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ ।
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ ।

तर,
विचार गर्नु ।
सत्ताकाे मत्ता लागेपछि
धरातल
न-बिर्सिनु ।
सँगैकाे भाइकाे हात-पाऊ काटेर
आफू हेलिकप्टर नचढ्नु ।।

मैले यसरी दिएकाे धैर्यकाे अभिव्यक्ति
सुन्नुकाे सट्टा
तिमी सङ्ग्राममा जाऊ ।
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा भएर जाऊ ।

पहिलेकाे-झैँ
राँकाे र बन्दुक हाेइन ।
विचारका धारा लिएर जाऊ ।
सुनाइदेऊ ।
आमाका वेदना
बुझ्लान् बुझ्ने छाेराले , मेरै सन्तान हुन् ।
न- बुझे
मेराे अद्यादेश भयाे ..
मेराे रक्षार्थ जसाे हुन्छ ।
तसाे गर ।।

जाऊ,
म सपना देख्दा देख्दै थाकि सकेँ ।
जब
तिमी विजयी हुनेछाै ।

मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला मिलेर, त्यो हुरी भएर आउनेछ ।

त्याे
हुरी तिमी लिएर आउनेछाै ।।

तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता
केही पल भएपनि
सगबगाएको थियो ।
बास!!
त्यो आउनेछ, तिमी उठ्नेछौ !”

साँचै
त्यो ! आउँछ, नि आमा ?
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई उहिले नै कुत्कुत्याइसक्याथ्याे ।
पक्कै
विश्वास गर
हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।
तिमी पनि जाऊ…

तर,
त्यो !
मेरा यी-नै पदस्थ सन्तानले
ल्याउलान् भन्ने,
मेरो यौवनभरिको सपना थियो ।
अपुराे रह्याे ।
न आत्तिई , धैर्य साथ फेरि भन्दैछु।
त्याे आउँछ , पक्कै आउँछ ।।

 

 

 

 

 

✍️चेरी ( रिमाललाई सम्झिदै )