लघुकथा -घर घराना

“नमस्ते दिदी सन्चै हुनुहुन्छ?”
“नमस्ते अँ….. सन्चै,आज कताबाट हामीलाई सम्झिनु भो ?धेरै भएकोथ्यो हाम्रो भेट्घाट नभएको।छोरीहरुको बिवाह पश्चात त हामी भेटिन नै छाड्यौं नि!”-“हो नि,खै!भेट्ने खासै काम पनि परेन त्यहि भएर होला ।”

उर्वशी र रन्जना लामो अन्तरालपछिको भेट्मा यसरी भलाकुशारी गरिरहेका थिए।
उर्वशीको मुहारमा सदा झैं हँसिलोपन र शरीरमा फुर्ति थिएन ।बोलीमा पनि नरमपन थियो। उर्वशीको यस्तो परिवर्तित रुप देखेर रन्जनालाई मनमा चिसो पस्यो ।एकप्रकारले उनी अचम्म्भित पनि बनी रहेको थिईन्।

केही समयसम्म त्यहाँको वातावरण शून्य जस्तो पनि थियो। उर्वशीको मौनताभित्र केही पीडा पनि झल्किई रहेको आभास हुन्थ्यो।तर रन्जनालाई बिश्वास थिएन कि उर्वशीलाई कुनै समस्या र पीडाले छुन्छ भनेर।यसअघिसम्म उर्वशीमा यस्तो उर्जा थियो कि,लाग्थ्यो उस्मा कहिल्यै दुख र समस्या पर्छ वा हुन्छ भन्ने शंकासम्म गर्न सकिन्नथ्यो।किनकी उर्वशीको व्यवहार नै यस्तो थियो कि ऊ आफूलाई कहिल्यै निरीह र कम्जोर ठान्दैन थिई र उस्लाई अरुले बिचरा भनेको पनि मन पर्दैनथ्यो।

रन्जना रणभुल्लमा परी।सधैं फार्तिफुर्ती गर्ने उर्वशी आज किन निशब्द बनेर रन्जनाको घरमा बसी रहेकी छ?मनमनै शंकाले डेरा जमाए पनि रन्जनाले धक फुकाएर उस्लाई सोध्न सकिन कारण बिगतमा आफूलाई केही कुरा सोद्धा वा बुझ्न खोज्दा उर्वशीले रन्जनालाई हेपाहा प्रवृत्तिले ठाडो जवाफ दिने गर्थी।

उर्वशीको मौनतालाई चिर्दै रंजनाले सोधी।-“बैनी अनि छोरी ज्वाईंको के छ हालखबर?छोरीलाई त आराम छ नि?बच्चाबच्ची हुने वाला छ कि?”रन्जनाको प्रश्नले उर्वशी झस्की नमज्जासँगले।अनि फोस्रो मुस्कान ओंठमा ल्याउँदै भनी।-“के हुनु र ?दिदी त्यस्तै हो नि।”

उर्वशीको निरश जवाफ सुनेर रन्जनाले धर्म संकटमा पर्दै भनी।-“के भो त्यस्तो?त्यति धनाढ्य परिवारमा गएकी छोरी केमा कमी भयो र?सधैं छोरीको प्रशंसा गर्ने तँपाई। आज किन यस्तो निरशता ?कुनै कुराको अभाव छैन होला?मेरी छोरीले जस्तो दुख,अभाव खप्नु परेको छैन होला?तँपाईले सधैं मलाई भन्नु हुन्थ्यो।छोरीचेली दिँदा घर,घराना हेरेर दिनु पर्छ भनेर।आफ्नो त छोरीको भाग्य नै खोटो रहेछ। गरीब घरानामा परी।”

रन्जनाको कुराले उर्वशीको मनमा चसक्क बिझ्यो।उस्ले निन्याउँरो मुख लाउँदै भनी।-“दिदी घर,घराना भनेको सम्पन्नता मात्र होईन रहेछ।उच्च बिचार,संस्कार अनि आत्मीयता नै सबैभन्दा ठुलो सम्पन्नता रहेछ।मैले मेरी छोरी ठुलो घराना र सम्पन्न परिवारमा परी भनेर धेरै पटक तँपाईलाई र छोरी सन्ध्यालाई हेलाको नजरले हेरेर खिशि ट्युरी गरें।आफ्नी छोरीको सम्पन्नताको अहंमता पोखें तँपाईलाई।तर आज म आफ्नै छोरीले सम्पन्नताभित्र बाँच्नु परेको लाचार जीवनसँग आजित छु।छोरीले अत्ति कष्टकर जीवन भोग्नु पर्यो र मैले छोरीलाई यतै ल्याएर राखेकी छु।त्यसैले आज तँपाईसँग छोरीको कामकोलागी केही भन्न आएकी हूँ।”

-“अनि सानोतिनो दुख,सङ्कट पर्दैमा छोरीलाई माईत ल्याई हाल्ने हो त? अलि अलि समस्या त भई हाल्छ नि!संघर्ष गर्न सिक्नु पो पर्छ त!पहिला दुख अनि सुख।तँपाईले त्यसरी माईत बोलाई हाल्नु हुन्नथ्यो छोरीलाई।जिन्दगी त लामो पो छ त!कैलेसम्म माईतमा राखेर तँपाईले भर दिनु हुन्छ ?आफ्नो घर गरि खानु पर्छ आखिरमा।”रन्जनाले यति भनी नसक्दै उर्वशीको आँखा टिल्पिलाई सकेको थियो ।ऊ भनी रहेकी थिई।-“मैले कहाँ ल्याएकी हूँ र ?उस्को घर परिवारले नै हाम्रो स्तर मिलेन तँपाईकी छोरीलाई घरानियाँ जीवन कसरी बाँचिन्छ?राम्रोसँग सिकाएर पठाउँनु होस् ।भनेर पठाए ।
उर्वशीको कुराले रन्जना तीनछक्क पर्दै एकोहोरो टोल्हाई रहिन् ।

-आचार्य प्रभा

अमेरिका 
रचना -फाल्गुन २२/ २०७९