राष्ट्रपति पौडेलले गरे गौरीघाट र कमलपोखरी पुगेर छठीमाईको पूजा आराधना

 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसँगै पूजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरे ।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे ।

राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।