पश्चिम नेपालमा वर्षा, केही ठाउँमा हिमपातको सम्भावना

फाइल तस्वीर

काठमाडौं : पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ ।

हिउँद सुरु भएसँग वर्षा र हिमपात हुँदा तापक्रम क्रमिक रुपमाले घटिरहेकोले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।

भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ । त्रिपालमा बसेका पीडित झन् प्रभावित भएका छन् ।