नेपालीहरु व्यक्तिगत स्वार्थमै रमाउने, सार्वजनिक काममा कसले ध्यान दिने ?

दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । गेटभित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ । आफ्नो गेटबाहिरको सडकसम्म पनि सफा गर्दैनन् । आखिरी हिँड्ने त उनीहरु पनि हुन् । बाटोघाटो, आकाशे पुल, मठमन्दिर, सार्वजनिक स्थलको हाल बेहाल छ ।

ऐतिहासिक धरोहरहरु चकिँदै, भत्किँदै गएका छन् । तर, त्यसको मर्मत सम्भार, सरसफाइमा कसैको ध्यान जान सकेको छैन् । सडक निकै फोहोर छन् । आकाशे पुलको अवस्था पनि उही छ । सार्वजनिक स्थल सबैका लागि हो । यद्यपि, कसैले त्यसको सरसफाइ, संरक्षणमा चासो दिएका छैनन् । हामी नेपाली आफ्नो घर चिटिक्क बनाउँछौं, फोहोर ल्याएर सडकमा फ्याक्ँछौं ।

सफा गर्न दायित्व सरकारको मात्र होइन् । स्थानीय बासिन्दाले आफ्नो घरअगाडिको सडक आफैंले सफा गर्नुपर्छ । स–साना कामका लागि पनि सरकारको मुख ताक्नुपर्छ भन्ने छैन् । छरछिमेक मिलेर घरअगाडिको बाटोघाटो सफा गर्ने हो भने त्यहाँ फोहोर नै थुप्रिँदैन् । बत्ती हाल्ने, रंगरोगन गर्ने काम त स्थानीय आफैंले पनि गर्न सक्छन् । यति जाबो कामका लागि सरकार नै चाहिन्छ भन्ने छैन् ।

काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्ला, टोलको नामाकरण गर्ने, गेट राख्ने अनि टोल सुधार समिति गठन गरेर पैसा खाने । बाठाहरुले टोल सुधारको नाममा घरधनीबाट पैसा उठाउने, सरकारबाट बजेट लिने अनि झ्यापझुप बनाउने । यहाँ नेता, सरकारी कर्मचारीदेखि लिएर सर्वसाधारणलाई नाटक गर्न कसैले भ्याउँदैन् । नाटक गर्नमा यिनीहरुले कलाकारलाई जितिदिन्छन् ।

यसको गतिलो उदाहरण बागमती सरसफाइ अभियान बन्न सक्छ । २०७० सालमा मुख्यसचिव लिलामणि पोखरेलमा बागमती सरसफाइ अभियान चलाए । जनताले तिरेको अर्बौं रुपैयाँ अभियानको नाममा सकियो । विभिन्न विदेशी संघसंगठनले सहयोग गरे । बागमती सफाइका लागि व्यक्तिहरुले पनि सहयोग गरे । तर, खोइ त उपलब्धि ? अभियान चलाएको त एक दशक बितिसकेको छ ।

यद्यपि, अवस्था भने उही नै छ । हरेक साताको शनिबार सरकारी कर्मचारी, सर्वसाधारण सरसफाइको नाममा बागमती किनारमा पुग्थें । त्यहाँ गएर फोटो खिचाउने अनि पैसा पचाउने काम मात्रै भयो । बाठाटाठाहरुले त्यहाँ ठूलो रकम भ्रष्टाचार गरेका छन् । डोको, पञ्जा, ज्याकेट, टोपी, जुत्ता, साभेललगायतका सामान किन्दा धेरै भ्रष्टाचार भयो । सय रुपैयाँको सामानलाई तीन सय रुपैयाँ बनाए ।

सय वटा सामान किनेर बिलचाँहि तीन सय वटाको बनाइयो । अहिले टोलटोलमा गेट राख्दा पनि भ्रष्टाचार भएको छ । उपभोक्ता समितिले चार गुणा बढी रकम राखेर भ्रष्टाचार गरिरहेका छन् । झन् यो टोल सुधार समितिमा त यति भ्रष्टाचार हुन्छ, के भन्ने ? खानेपानीमा पनि भ्रष्टाचार, ढलमा पनि । बाटोघाटो निर्माणमा पनि भ्रष्टाचार हुँदै आएको छ ।

समितिमा बसेकाहरुले उपभोक्ता समितिका नाममा आफ्नो मान्छे छिराएर भ्रष्टाचार गरिरहेका छन् । पछिल्लो समय यी कार्य झनै बढिरहेको छ । जताततै भ्रष्टाचार मात्रै छ । शहर सुन्दर बनाउनका लागि यतिका निकाय छन् । मन्त्रालय, विभाग, स्थानीय तह, समितिलगायत कैयौं निकाय सञ्चालनमा छन् । तर, जुनसुकै निकाय भएपनि कसैले काम गरेका होइनन् ।

शहर कुरुप बन्दै गएको छ । वास्तवमा भन्ने हो भने शहर कस्तो हुन्छ ? भन्ने नै कसैलाई थाहा छैन् । व्यवस्थित शहर बनाउने भनेर सरकारले पटकपटक घोषणा गरिसकेको छ । तर, प्रगति भने केही छैन् । सडकभरि फोहोरको डंगुर छ । हरेक पाइलामा फोहोर भेटिन्छ । सडकमा हिँड्नसमेत महामुश्किल छ । सरकारले ठाउँठाउँमा डस्टबिनको व्यवस्थापनसमेत गर्न सकेको छैन् ।

स्थानीय तहहरुले डस्टबिन राख्ने नाममा बजेट झ्वाम्म पार्दै आएका छन् । डस्टबिन नहुँदा सर्वसाधारणले कागज, खानेकुराको प्याकेटहरु सडकमा फ्याँकिदिन्छन् । सडकभरि खानेकुराको प्याकेट यत्रतत्र छरिएका हुन्छन् । तर, सफा कसले गर्ने ? सरकारको ध्यान सबैतिर पुग्न सक्दैन् । सबैतिर सरकारले सफा गर्ने सम्भव पनि छैन् । तर, ठाउँठाउँमा डस्टबिन राखिदिन त सकिन्छ नि ?

अहिले सार्वजनिक काम गर्न कोही रुचाउँदैनन् । कसैले मठमन्दिर बनाउन, पार्टीपौबा निर्माण गर्न, बाटोघाटो सफा गर्न चाहँदैनन् । जबकी त्यो सबैको दायित्व हो । बरु, अरुले बल्लतल्ल सफा गरेको ठाउँमा फोहोर पारेर हिँडिदिन्छन् । श्रमदान गर्ने चलनचल्ती हराएको छ । फुर्सद भयो कि फोन चलाएर बस्छन्, सार्वजनिक काममा कसले ध्यान दिने ? अहिले जति पनि ढुंगेधारा, ताल, पोखरी, आल, पार्टीपौवा छ त्यो सबै पहिले नै बनेका हुन् ।

उनीहरुले श्रमदान गरेर बनाएका हुन् । अहिलेका पुस्ताले त भएकालाई पनि मासिरहेका छन् । नयाँ निर्माण गर्न नसकेपनि संरक्षण त गर्नुपर्छ । त्योपनि गर्न सकिएको अवस्था छैन् । सरकारले पनि सार्वजनिक काम गर्नुपर्छ भनेर जनतालाई बुझाउन सकेन् । किताबमा लेखिएर के गर्नु, व्यवहारमा लागु हुनु कल्पना गर्नु मात्रै हो । सरकारले अर्बौं रुपैयाँ खर्च गरेर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

यो कार्यक्रमको खाँचो के ? राज्यको ढुकुटी सिद्धयाउनका लागि मात्रै कार्यक्रम ल्याएको स्पष्ट छ । सार्वजनिक काम गर्नका लागि किन अर्बौं खर्च गर्नुपर्यो ? टोलबासीले मिलेर काम गरेपनि त्यहाँ खर्च नै हुँदैन् । बेकारमा राज्यकोषमाथि आर्थिक भार थप्ने काम मात्रै हुँदै आइरहेको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत कति वास्तविक बेरोजगारले जागिर पाए त ?

सरकारसँग तथ्याङ्क छ ? राजनीतिक दलका नेताहरुले आफ्नो कार्यकर्ता पोस्न यो कार्यक्रम ल्याएका हुन्भन्दा केही फरक पर्दैन् । बिहान आउने, हाजिर गर्ने अनि घरतिर दौडिने । सरकारले यो कार्यक्रम चलाएको वर्षौं बितिसकेको छ । अर्बौं रुपैयाँ सकिसक्यो । तर, खोइ त प्रगति ? राजनीतिक दल को हुन् ? जनप्रतिनिधि को हुन् ? उनीहरु जनताको सेवा गर्न आएका कि जागिर खान ? अब यसको जवाफ खोताल्न आवश्यक देखिएको छ ।

जनप्रतिनिधिका स्थानीयका अभिभावक हुन् । जनप्रतिनिधि भएपनि जनताको सेवा गर्नु उनीहरुको दायित्व हो । यसबापत पनि तलबभत्ता, सरकारी सेवासुविधा लिन्छन् । त्यसो त जागिर खान गए, भइहाल्यो नि । किन जनप्रतिनिधि भनेर नाटक देखाइरहनुपर्यो ? जनताको नाम लिएर आफु मोटाउने कार्यले प्राथमिकता पाएको छ । काम केही नगर्ने, तलबभत्ता मात्रै खाने ।

वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सबैले तलब खान्छन् । लोकसेवाको परीक्षा पास नगरिकन जागिर खान पाएका छन्, अरु के चाहियो ? नेपालमा सबैभन्दा धेरै हिन्दू धर्मावलम्बी छन् । नेपालीहरु भगवानप्रति आस्था राख्छन् । तर, मन्दिरको अवस्था निकै नै दयनीय छ । छानोबाट पानी चुहिन्छ । मन्दिरका भित्तामा झार उम्रिएको छ । भित्ताहरु चर्किएका छन् ।

सरसफाइ छैन् । न शौचालयको व्यवस्था छ । मन्दिरको दानपेटिकामा उठेको पैसाचाँहि कहाँ जान्छ ? व्यक्तिगत स्वार्थ मात्र हेर्दा मुलुक कति पछाडि पर्दो रहेछ ? यो त छर्लङ्ग भइसकेको छ । नेपालीहरु व्यक्तिगत कुरामै रमाएका छन् । दिनभर टिकटक बनाएर बस्नुको साटो सार्वजनिक काममा हात बटाए त शहर सुन्दर हुन्थ्यो नि । सार्वजनिक कामको नाममा डलरको खेती गर्ने कार्यले प्राथमिकता पाएको छ ।

डोको बोकेको, साभेल समातेको देखाउने अनि फोटो खिचेर डलर ल्याउँदै खाने । स्कुल, कलेजमा पनि यही नौटंकी देखिन थालेको छ । समाजमा विकृति फैलिएको छ । गत असार १५ गते धान रोप्ने कार्यक्रममा पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाटक सबैले देखिहाल्यौं । हिलो लाग्छ भनेर ओली धान रोप्न पुगे । यस्ता नेताबाट जनताले के सिक्ने ? खेतमा छिरेपछि हिलो लाग्नु स्वाभाविकै कुरा हो ।

नेताहरु नचाँहिदो काममा सुकिलोमुकिलो हुँदा आज देश यो अवस्थामा पुग्यो । भष्ट्राचारको छिटा शरीरभरि छ । क्षणिकको लागि सुकिलोमुकिलो बनेर के फाइदा ? नेपालीहरु आफू कमाउन र रमाउनमै व्यस्त छन् । देशको बारेमा कसले सोच्ने ? नेताहरुलाई कसरी राज्यको ढुकुटी सर्वस्व बनाऔं भन्ने मात्र छ । जनताहरु पनि त्यस्तै छन् । अनि कसरी शहर सुन्दर हुन्छ ?

-अनुसा थापा
भक्तपुर