व्यापारव्यवसाय ठप्प, महंगीले जनताको ढाड सेक्यो, सरकार अझै पनि किन बन्दै छ मुकदर्शक !

अहिले बजारमा व्यापारीहरु भन्छन्, ‘मन्दी आयो । व्यापार नै भएन ।’ अधिंकाश मानिसहरु त पाँच सय र हजारको नोट हाहाकार हुन थालेको समेत बताउँछन् । कतिपय त कयौं महिनादेखि पाँच सय र हजारको नोट नदेखेको पनि बताउँछन् । अहिले काठमाडौं उपत्यकाभित्र होस् या बाहिर ६० प्रतिशत सटर खाली भइसकेका छन् ।

जसोतसो खुलिरहेका पसलहरुमा पनि व्यापार छैन । ग्राहक आउने आशाले बिहानै खाना नखाई आएका व्यापारीहरु बेलुका रित्तो हात फर्किनुपर्ने अवस्था छ । तीन वर्षअघि दिनमा दशौं लाखको व्यापार हुने पसलमा अहिले त कहिलेकाँही त बहनी समेत नहुने बताइन्छ । व्यापारीहरु एउटा सटरको सटर मासिक २० हजारदेखि ११ लाखसम्म रहेको बताउँछन् ।

तर, व्यापारमा आएको मन्दीका कारण छ महिनादेखि वर्षो दिनदेखि भाडा नतिरेको उनीहरुको भनाइ छ । व्यापार ठप्प भएपछि कोठा भाडा, बालबच्चाको फिसका साथसाथै बिहानबेलुकाको छाक टार्न समेत धौंधौं गरेको उनीहरु दुःखसो गर्छन् । अहिले जोकोही मुलुकको अर्थतन्त्र डामाडुल अवस्थामा पुगेको बताउँछन् ।

मुलुक श्रींलकाभन्दा नाजुक अवस्थामा पुगेको अधिंकाशको ठहर पनि छ । अहिले महंगी, बेरोजगारी र मन्दीका कारण मानिसहरुले बोरामा चामल किन्न छोडेका छन् । उनीहरु किलोमा चामल किन्छन् । कतिपयले हरियो सागसब्जी खान छोडेका छन् भने कतिपय अभिभावकहरु आफ्ना सासाना बालबच्चालाई मात्र खाना खुवाएर भोकै सुत्छन् ।

दुध, दही व्यापारीहरु पहिलापहिला लिटरको लिटर बिक्री हुने दुध र दही अहिले बल्लतल्ल आधा लिटर बिक्री हुने बताउँछन् । त्यस्तै, मासु पसलको व्यापारमा पनि गिरावट आएको पाइएको छ । मासु व्यापारीहरु भन्छन्, ‘पहिलापहिला एकै मानिसले दुई–तीन केजीसम्म मासु लग्ने गथ्र्यो । त्यो पनि दिन बिराएर । तर, अहिले त पाउ वा आधा केजीमा मात्र मासु बिक्री हुने गरेको छ । अधिंकाश ग्राहक त महिना दिनमा समेत आउँदैनन् ।’
आमनागरिकहरुले घर बाहिर गएर होटल, रेस्टुरेन्टमा खान पनि छोडेका छन् । यता, महिलाहरुको सधैं भीड लाग्ने ब्युट्री पालर पनि अहिले सुनसान देखिन्छ । केही वर्षअघिसम्म मानिसहरु सपिङ्ग गर्न भाटभटेनी, सुपरमार्केट र बिग मार्ट जान्थे । तर, अहिले आफ्रनै घरअगाडिको किराना पसलमा जान्छन् ।

अहिले मानिसहरु साँझ परेपछि घरबाट बाहिर निस्कन्छन् । चोकचोक पुग्छन् । अनि हरियो तरकारीको मोलमोलाई गर्न थाल्छन् । जसले सस्तोमा दिन्छ, उसैबाट तरकारी खरिद गर्छन् । दुई वर्षअघिसम्म मानिसहरु माछा, मासु, दही, पनिर, अचार, दाल, सागसब्जीलगायत अन्य खानेकुराहरु नभएसम्म खाना खादैँनन् थिए । तर, अहिले त मानिसहरुलाई बिहानबेलुका दाल, भात खान समेत हम्मेहम्मे परेको छ । मासु, दही र अचारबिना खाना नखानेहरु अहिले दाल, भात पाएपनि खुशी हुन्छन् ।

एकथरी मानिसको घरमा अहिले दाल, भात र तरकारी पाक्छ, अर्काथरी मानिसहरु चामलमा नुन, पानी हालेर त्यसैलाई पकाएर खान्छन् । पछिल्लो समय पेटभरी खाना खाने भनेको सरकारी कर्मचारी, पेन्सनवाला र राजनीतिक दलका नेता मात्र हुन् । आम सर्वसाधारण कि त आधा पेट खाना खाएर हिडँछन् होइन भने भोकभोकै हिडँछन् र सुत्छन् पनि ।

मानिसलाई बाँच्नका लागि नभई नहुने भनेको खाद्यान्न हो । खाद्य धनी र गरिब दुवैलाई आवश्यक पर्छ । तर, पछिल्लो समय खाद्यान्नकै मूल्य छोइनसक्नु छ । नेपालको अधिंकाश खेतीयोग्य जमिन घर र बाटो बनाएर सकियो । भएको खेतीयोग्यको पनि सदुपयोग हुन सकेको छैन ।

कृषकहरु विदेश पलायन भएका छन् भने गाउँमा जमिन बाँझो छ । जसका कारण मुलुक खाद्यान्नमा भारतलगायत अन्य देशमा परनिर्भर हुनुपर्ने अवस्था छ । हामी नेपाली नागरिकता बोक्छौं । नेपाली हौं भनेर गौरव गछौं । तर, छिमेकी मुलुकमा फलेका खाद्यान्न आफ्नो भान्छामा पकाउँछौं ।

अहिले त नुनदेखि सुनसम्मै छिमेकी मुलुकलगायत अन्य देशबाट आयात गरिरहेको छ, हाम्रो देश । छिमेकी मुलुकले खाद्यान्न नपठाएको खण्डमा यहाँ भोकमारी लाग्ने पक्का नै छ । त्यस्तै, छिमेकीले ग्याँस, पेट्रोल, डिजेल नपठाएमा पनि यहाँ हाहाकार हुन्छ । हामी आत्मनिर्भर छैनौं । हाम्रो देश आत्मनिर्भर छैन ।

राष्ट्र बैंकले पाँच सय र हजारको नोट वर्षेपिच्छे छाप्छ । बजारमा पठाउँछ । तर, कति नोट बजारमा छ र कति नोट लुकाइयो भन्ने तथ्ंयाक राष्ट्र बैंकसँग छैन । न त अर्थ मन्त्रालयसँग नै छ । अहिले मानिसहरुले हजार र पाँच सयको नोट घरघरमा लुकाएको बजारको स्थितिले देखाउँछ । बैंक तथा वित्तिय संस्थाको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा रहेको छ ।

आजभन्दा तीन वर्षअघि बैंक र सहकारीले आँखा चिम्लेर घुसको लोभमा यी क्षेत्रमा कर्जा प्रवाह गप्र्यो । तर, आज यसको आएको मन्दीका कारण उनीहरु घाटामा गएका छन् । उनीहरु न कर्जा उठाउन सकेका छन् न धितो बिक्री नै भएको छ ।

तीन वर्षअघि पाँच करोडमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर सस्तोमा बेच्छुभन्दा करोडमा समेत बिक्री नभएको सुनिन्छ । ३२ सयमा किनेको सेयर १५ सयमा बिक्री हुन्न त दश लाखमा किनेको गाडी लाख रुपैयाँमा बिक्री हुदैँन । बजार पूरै मन्दीका गएको छ ।

जसका कारण बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । यातायात र मालपोत कार्यालय सुनसान छ । जबकी राजस्वको अड्डा भनेर यी निकायलाई पनि चिनिन्छ । यस्तो अवस्था निम्तिँदा पनि प्रधानमन्त्री प्रचण्ड चुपचाप छन् ।

यता, अर्थमन्त्री डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी त झनै मुकदर्शक भएका छन् । विदेशी ऋण २३ खर्ब ९ अर्ब बढी भइसकेको छ । अझै पनि सरकार ऋण उठाउनमै व्यस्त छ । प्रत्येक नेपालीको टाउकोमा ८० हजार विदेशी ऋण पुगिसकेको छ । चाहेँ त्यो नेपालमा बसेका नेपालीको टाउकोमा होस् या विदेशिएका ।

विदेशी मुलुकसँग लिएको ऋणको साँवा, ब्याज तिर्न सक्ने अवस्थामा सरकार छैन । सरकार एउटा देशसँग ऋण लिएर अर्को देशसँग लिएको ऋणको साँवा, ब्याज र किस्ता तिर्ने काम गरिरहेको छ । जनताले तिरेको कर पनि अपुग भएपछि सरकारी कर्मचारी, जनप्रतिनिधिहरुलाई तलबभत्ता र सेवासुविधा खुवाउन ऋणको भारी बोकिरहेको छ, हाम्रो देश ।

नेपाल डुबिसकेको छ । मुलुकको अर्थतन्त्र पाकिस्तान र श्रींलकाभन्दा नाजुक अवस्थामा पुगिसकेको छ । जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । कतिपय त देशै छोडेर भागेका पनि छन् । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम खाइदियो । बैंक पनि घाटामा भएपनि धमाधम कर्मचारी कटौती गरिरहेको छ ।

दुई वर्षअघि सयौं नागरिकलाई रोजगारी दिएका व्यवसायीहरु अहिले आफैं पलायन भएका छन् । हाम्रो देशमा कलकारखाना, उद्योग छैन । नेपालीहरु दिनहुँ खाडी मुलुक पलायन छन् । चाहेँ त्यो महिला नै होस् या पुरुष । देशमा रोजगारी नभएपछि आफ्नो दुधे बच्चा छोडेर महिलाहरु खाडी गएका छन् ।

आफ्ना बुढाबूढी वा रोगी आमाबुबा छोडेर विदेश पलायन हुनुपर्ने बाध्य अहिले हरेक नेपालीको घरमा छ । १८ वर्षदेखि ४५ वर्षसम्मका मानिसहरुको अहिले रोजगारीका लागि खाडी मुलुक जान एयरपोर्टमा भीड लागेको छ ।
मुलुकमा रोजगारी नभएपछि वा मुलुकप्रतिको सम्पूर्ण आशा मरेपछि नेपाली जनता दिनहुँ हजारौंको संख्यामा विदेशिएका छन् । अनि त्यँही नेपालीले तिरेको करमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु मोजमस्ती गरेका हिँडेका छन् । कामबिना तलबभत्ता पचाएका छन् भने अगाडिपछाडि सुरक्षाकर्मी राखेका छन् ।

सर्वसाधारण जनता मुलुक यो अवस्थामा पुग्नुमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताकै हात रहेको आरोप लगाउँछन् । अहिले पनि मुलुकको अवस्थाबारे राजनीतिक दलका नेताहरु झुठ बोलिरहेका छन् । चाहेँ त्यो प्रधानमन्त्री प्रचण्ड नै होस् या एमालेका अध्यक्ष केपीशर्मा ओली ।

त्यस्तै, शेरबहादुर देउवा, माधवकुमार नेपाल र रवि लमछिानेले पनि जनतामा भ्रम सिर्जना गर्नुबाहेक अरु केही गरेका छैनन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि नारायणहिटी दरबार छोडेपनि जनताले नै तिरेको करबाट तलबभत्ता खाएका छन् । सुरक्षाकर्मी राखेका छन् भने घुमफिर पनि गरेका छन् ।

अहिले कति जनता महंगी र बेरोजगारीका कारण भोकै सुतेका छन् भनेर न प्रचण्डलाई थाहा छ न पूर्व राजा ज्ञानेन्द्र शाहलाई । यता, केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल र रवि लामिछाने त झन् जनताले तिरेको करमा दर मार्न आएका हुन् । यतिले मात्र नपुगेर विदेशीसँग ऋण उठाइउठाई मोजमस्ती गरिरहेका छन् उनीहरु ।

हाम्रो देशको अधिंकाश भूभाग छिमेकी मुलुक भारत र चीनले कब्जा गरिसकेको छ । तर, नेपाली सेना जनताले तिरेको करबाट तलबभत्ता खाएर ब्यारेकभित्र बसेको छ । अनि देशको लागि यहाँ को छ ? कसले जनताको हितमा काम गर्छ ? यो प्रश्न आफैं अन्योलमा परेको छ ।

रुषा थापा
भक्तपुर