“भूल”रोशन परियार- कविता

बाँसुरी
मधुरो बज्छ, सुरिलो बज्छ
म बाँसुरीलाई औधी प्रेम गर्छु
कैले काँही
काँधमा अड्याउँछु , ओठमा सजाउँछु
र हरेक प्वालहरुमा मनलाग्दी डुल्छु
उनी छाती छेंडेर पनि मिठो बोल्छिन्

सारङ्गी
रेट्दा रन्किन्छ , घोट्दा घन्किन्छ
म सारङ्गीलाई औधी प्रेम गर्छु
कैले काँही
काखमा राख्छु , छातीमा टाँस्छु
र हरेक तारहरुमा मनलाग्दी घोटिन्छु
उनी भोको पेट बोकेर पनि अघाउँछिन्

मादल
समला बज्दा सम्झिन्छु , झ्याउरे बज्दा झस्किन्छु
म मादल लाई औधी प्रेम गर्छु
कैले काँही
कम्मरमा राख्छु , दाहिने – देब्रे फर्काउँछु
र हरेक ताल कटाईमा मनलाग्दी पड्किन्छु
उनी शरिर बाँधेर पनि फुकि दिन्छिन्

बज्दा – बज्दै
बाँसुरीले बास छोडी दियो
सारङ्गीले साथ छोडी दियो
मादलले माया मारी दियो

वाद्य वादन उस्तै रहे
वाद्य वाधक फेरिँदै गए

मैले संगीत सिक्नु र जान्नु भन्दा पहिले
तिमीलाई चिन्नु हुँदैनथ्यो।।

रोशन परियार
धनकुटा