
राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको दक्षिणी बेल्ट्मा अवस्थित गल्याङ नगरपालिले बजारको फोहर धेरै वर्ष अघि देखि सोही पालिकाको वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गत जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे फोहरमा पहिचान खुल्न नसकेका ब्यक्ति वा समूहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताएका थिए। उनको भनाइ अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताए ।
नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहर फाल्न स्थानीयले रोक लगाएकाे उनले जानकारी दिएका छन् । वातावरणीय संरक्षण युवामञ्च, स्थानीय र जनप्रतिनिधिले पटकपटक छलफल गरेर फोहर व्यवस्थापनको समस्या समाधान गर्न खोजे पनि सहमति जुट्न नसकेको मञ्चले जनाएको छ । बजारको फोहर नउठ्दा गल्याङका बजारवासी सास्ती भोग्न मजबुर छन् ।
नगरपालिकाले फोहर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यसहित सुरेश सुवेदीको संयोजकत्वमा गल्याङ नगर सरसफाइ समितिसमेत बनाएको बताइएको छ । मञ्च, स्थानीय र जनप्रतिनिधिबीच कुहिने र नकहिने फोहर छुट्याएर मात्र साउन ७ गतेसम्म नजिकै फोहर विसर्जन गर्ने सहमति बनेको संयोजक सुवेदीले बताए ।
नगरपालिका र नगर समितिले वडा नं ३ छर्तिघाटमा डोजर लगाएर सरसफाई केन्द्र निर्माण सुुरु गरेको स्थानीय प्रवेश अर्यालले जानकारी दिए । कालीगण्डकी नदीस्थित छर्तिघाट नजिकै कालीगण्डकी गुरुकुल, उत्तरबाहीनी क्षेत्र र दाह संस्कार गर्ने थलो भएकाले यहाँ फोहोर बिसर्जन गर्दा नदीको सभ्यतामा आँच आउँछ”, उनले भने, फोहर व्यवस्थापनका लागि अन्य विकल्प खोज्नु पर्छ । हामीले यहाँ विसर्जन गर्न नदिने भनेर विरोध जनाएका हौँ ।
वडा नं ३, ७ र ११ को दाह संस्कार गर्ने स्थल छर्तिघाट भएकाले यहाँ फोहर फाल्न रोक लगाउनुपर्ने माग राख्दै वडा नं ३ का स्थानीयले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल बस्यालले बताए । नगरपालिकाले वैज्ञानिक ढङ्गबाट वातावरणलाई नबिगार्ने गरी सङ्कलन केन्द्र बनाए आफुहरुले स्वीकार गर्ने उनले बताए।
पाल्पाको रम्भा गाउँपालिका–१ ले पनि उक्त स्थानमा फोहर नफाल्न माग राख्दै गल्याङ नगरपालिका–३ कार्यालयलाई ध्यानाकर्षपत्र बुझाएकाले वडाध्यक्ष ईश्वरी काफ्लेले जानकारी दिएका छन् ।
छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा प्रभाव पर्न सक्छ भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रबेश अर्यालले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए। अदालतले अर्यालले दिएको रिटमाथि गत भदौ २६ गते सुनुवाई गर्दै छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको अदालतका न्यायधिश श्रीधराकुमारी पुडासैनीले जानकारी दिइन् ।
अदालतले फोहोर विर्सजन सहितका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको तीन दिनपछि नगरपालिकाले सरसफाई केन्द्र निर्माणको काम रोकेको स्थानीय अर्यालले बताएका हुन् । उनका अनुसार उच्च अदालत पोखराले दुवै पक्षलाई असोज १० गते सुनुवाइका लागि बोलाएको छ ।
नगरपालिका र नगर सरसफाइ समितिले कालीगण्डकीको ४८ मिटरको दूरीमा रहेको सार्वजनिक वन फँडानी गरी फोहर फाल्ने ठाउँ निर्माण गर्न लागेकाले अदालतमा निवेदन दिनुपरेको निवेदक अर्यालले बताए । कालीगण्डकी नदीको वातावरणीय, मानव स्वास्थ्य, पर्यटकीय धार्मिक दृष्टिकोणले निकै महत्व भएको उनले भने यस क्षेत्र वरिपरि फोहोर विसर्जन सहितका काम नगर्न पटकपटक मेयरलाई भेटी वार्ता र पत्राचार गर्दा पनि काम नरोकिएपछि कानुनी उपचार खोज्न बाध्य भएका हौं ।
नगरपालिकाले फोहर व्यवस्थापन वैज्ञानिक र वातावरण मैत्री तवरले गर्न खोजेको नगरपालिकाकी उपमेयर हेमा न्यौपाने तिमल्सिनाले दाबी गरिन । उनले छर्तिघाटस्थित सरसफाइ केन्द्रमा फोहर विसर्जन गर्ने नभएर फोहरलाई वर्गीकरण गरिने बताएकी छन् ।
हाम्रो देशका कतिपय पालिकाहरुमा फोहरलाई मोहोरमा परिणत गरेको अवस्थामा गल्याङ नगरपालिकाले पनि त्यस्तै अभ्यास गरिने योजनाका साथ सरसफाइ केन्द्र निर्माणको काम थालिएको कुरा, उपप्रमुख न्यौपानले भनेकी छिन । फोहर सङ्कलन केन्द्र बनाउन लागिएको विषयलाई अतिरञ्जित गर्न खोजिएको उनको जिकिर छ ।
उनले कुहिने फोहोरको कम्पोष्ट मल बनाउने, पुनःप्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई कच्चापदार्थका रुपमा विभिन्न उद्योगमा पठाउने तयारीअनुरुप काम अगाडि बढाइएको बताइन् । उपमेयर न्यौपानेले गल्याङको फोहर व्यवस्थापन सबैको साझा विषय भएकाले सहमति र सहकार्यको बाटोमा लाग्न सकिने बताएकी छिन्।
