
आज पनि
श्यामे हिँजो जस्तै
रोइरहेछ ।
कथा वेदनाको हो ।
नाबालक शिशुको हो ।
जो जन्मजात शिरमा
छत्तीस हजार
ऋण बोकेर,
अधिकारका लागि
बालदिवस कुरीरहेछ ।
सरकारवाला !
यदि
तिमीसँग कान छन्,
भने
कृपया सुनिदेऊ ।
छैनन् भने मलाई
भन्नु केही छैन ।
श्यामे घरपारी भागेर
आमाकालागि
दशैँ खर्च हातमा
दुई बोतल बोकेर
मुग्लिन र कलङ्किमा
एक बोत्तल
पानीको बिक्रीको आशमा
लामो श्वास फेर्दै
पानी-पानी कराइरहेछ ।
आज त भाद्र २९
केही
आश बोकेर
श्यामे खाली पेट
सडकमा उत्रेर
बाल अधिकारको
नारा लगाइरहेछ ।
सरकारवाला !
यदि
तिमीसँग आँखा छन्
भने
कृपया हेरिदेऊ ।
छैनन् भने मलाई
भन्नु केही छैन ।
श्यामे र श्यामेका साथी
अझै तिम्रो रेजिडेण्ट
निकट
पशुपतिमा फुटेको
कचौरा हल्लाएर
एक मुठ्ठी गाँसको आशमा
हाँस्खेल गर्ने
बालपन बिताइरहेछन् ।
अझै
श्यामे त माग्नेको
प्रमाणपत्र बोकेर
गाडी-गाडीमा डुलिरहेछ ।
सरकारवाला !
तिमीसँग
यदि
अलिकति अनुदान दिने
अधिकार छ
भने
कृपया रोल्पा र डोल्पाका
च्यान्टे र भुन्टेका लागि
थोरै अनुदान पठाइदेउ ।
अधिकार छैन
भने
मलाई भन्नु केही छैन ।
त्यहाँ
पनि श्यामे जस्तै,
च्यान्टे र भुन्टे
रोग र भोकले
आजित भएका छन् ।
अरे …!
दुई तिहाइको सरकार !
यदि
अझै
तिम्रो मन पग्लिदैन
भने
यो कविताको आगोमा
तिम्रो मनलाई झिकेर
होमिदेऊ ।
कतै भुलचुक
तिम्रो मन, सुन बन्न सक्छ ।
चेरी ( चेतन रिजाल )
