मेराे गुरु अनि मिल्ने साथी बुबा भन्दा को छ र माथि…

बा !तिम्रो साथ अनि तिम्रो हात तिम्रो बोली अनि तिम्रो उपस्थिति हिजो,आज र भोली उत्तिनै आवश्यक छ मलाई। मैले औंला समाउँदै हिड्न सिकेको तिम्रो ढाडबाट संसार देखेको तिमी मेरो गौरव र आशा दुवै हौ। तिमी थियौ र म भए, मैले नयाँ जीवन पाँए नाम पाएँ जीवनको परिभाषा र पसिना चिने।मेरो गुरु अनि साथी तिमी भन्दा को छ र माथि? तिम्रो हौसला र प्रेमले नै म छु हामी छौँ परिवार छ।बा धेरै सम्मान अनि माया सुख, शान्ति र दिर्घायुको सधैं झैँ बुबाको मुख हेर्ने दिनको अर्थात् कुशे औँशीको मेरो शुभकामना बा!!!बुबा, सयजना शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेको थिए ।

सायद व्यवहारमा भोगेको र अध्ययन गरेको सिकाई त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् मलाई। बाले मलाई माया गर्छु कहिल्यै भन्नुभएन तर उहाँको आँखामा त्यो माया छछल्किरहेको देख्छु। मलाई संसार देखाउने बुबाको मुहारमा म आफ्नो संसार देख्छु। जिम्मेवारीले परिपक्व मेरा बा उमेरले ५५ बसन्त पार गरिसके।

कर्मसँगको मिठो नाता छ बाको । संघर्षको मैदानमा एक्लै यात्रा गर्न निस्किएका बाको त्यो काँधमा सन्तान र परिवारको निकै ठुलो जिम्मेवारी छ। तर पनि त्यो बोझले बुबा कहिल्यै थाकेको देखिन मैले मेरा बा।चाउरिएको गाला, चिम्सो आँखा भित्र बुबाका धेरै पिडाहरु लुकेका हुन्छन् । तर, कहिल्यै हामीलाई व्यक्त गर्नु हुन्न ।

एकातिर परिवारको जिम्मेवारीअर्को तर्फ सिङ्गो गाउँको असहयोग। कमजोर त पक्कै पनि होइनन् मेरा बा!मैले मेरा बुबालाई लुकीलुकी रोएको धेरै पटक देखेको छु । तर, आँसु पुछ्ने हिम्मत जुटाउन सकेको छैन अहिले सम्म। किनकी म रुँदै गरेको मान्छेलाई फकाउन जान्दिनँ । आँसुमा धेरै ओजन हुन्छ रे, एकथोपा आँसु खसाल्दा गहकिलो पिडाका भारीले विश्राम लिन्छ ।यही सोचले पनि होला सायद, मैले बाको आँखाको आँसु पुछ्न सकिन । लुकेर रोएकाले पनि मैले बाको आँसुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने होला ।

आफू अभावमा बाँचेर, हामी सन्तानलाई सुखको अनुभुती गराउन जीवनमा आउने हरेक परीक्षा दिएका उनले कुनै कुनै परीक्षामा उत्तम अंक ल्याउन सफल बनेनन् होला । तर, कहिल्यै महसुश गराएनन् हामीलाई अभावको। हामीले (मैले)सानोमा एक जोर निलो पाइन्ट र रातो बुट्टा भको सट चाहियो भनेर ठीपी गर्दा परदेशीनु परेको आफन्त र छिमेकीले गरेको व्यवहार आमाको त्यो साहसीपन हामीलाई खुसी बनाएको पल कहिल्यै भुल्ने छैन बा!भोक र दु:ख लुकाउन सक्ने बाको त्यो स्वभावलाई आज भोली स्मरण गर्दैछु ।

टुकीको धिपधिपे प्रकाशमा चुडिएको चप्पल गाँसेर वर्षौ सम्म लगाएर हिँडडुल गर्न सक्छन मेरा बा । मेरो बाउको सबै स्वभाव प्रशंसनीय नहोलान् । तीमध्ये ‘चुडिएर, गाँसेको चप्पलले पनि गन्तव्यमा पुर्याउछ’ भन्ने भनाई र उनले जिउने गरेको साधारण जीवनशैलीले मलाई प्रभावित पारेको छ ।
उनका ती भनाईहरु चुँडिएका चप्पलले गाँस्ने टुकीको मधुर धुँवा र धिपधिप बलेको बत्तीको प्रकाशझैँ मेरा मानसपटलमा दीर्घकालसम्म अमिट बनेको छ । उनको त्यही स्वभाव र भनाईले पनि होला मलाई कृतिम र देखावटी भन्दा पनि सत्यता, वास्तविकता र साधारण जीवनशैली जिउन रुचाउँछु ।

सानो हुन्जेल मर्छ की भन्ने डर, ठूलो भएपछि मार्छ की भन्ने डर भने झै कतिको जीवनमा यो उखान चरितार्थ भएको पनि छ । अरु कुरा त परै जाओस बुवा भनेर बोलाउने सम्म पनि गर्दैनन् । कति बाबु छोरा विच बोलचाल नै बन्द छ । यहाँ सम्म कि अदालतमा तारिख खेपिरहेका हुन्छन् । त्यस्ता छोराछोरीहरुलाई बाबु फाल्ने डोकोको कथा एक पल्ट सबै छोराछारीलाई सुनाउनै पर्ने हो । किनकी पालो सवैको आउछ। सानो छदा छोरा छोरी विच मेरो आमा मेरो बुवा भनेर झगडा हुने गर्दछ । जब छोराछोरी ठूला हुन्छन् बुबा आमा बुढा हुन्छन् तव आमा बुवा तेरो पनि हो, मेरो मात्र हो र ? भनेर झगडा हुने गर्दछ । यस्तो तितो यथार्थ पनि हामीले अनुभव गरिरहेका छौ । यसमा दोषी को ? असल संस्कार दिन नसक्ने अभिभावक की बुवा आमाको गुण नदेख्ने छोराछोरी ?

कुशे औशीको दिन बुवाको मुख हेर्ने दिन हो । यस दिन हामी बुवालाई ढोकभेट गरी मिठो खाना र राम्रो लुगा आदि समर्पण गर्दछौँ । आमा र वावाको मुख हेर्नेै दिन मनाउने हामी नेपालीहरुको प्रचलन साह्रै नै महत्वपूर्ण छ । वैशाख कृष्ण अौँशीमा आमाको मुख हेर्ने मातातीर्थ औँशीको रुपमा लिईन्छ । त्यसैगरी बुवाको मुख हेर्ने दिन हिन्दु परम्परा अनुसार भाद्र महिनाको औँसीका दिन पिता दिवशको रुपमा पनि मनाईन्छ । जसको घरमा आमा बाबु छन् उनीहरुको लागि यो पर्व त्यति महत्वपूर्ण लाग्दैन । तर जस्को छैनन् वा साथमा हुँदैनन् उनीहरुको लागि यो दिन अत्यन्तै महत्वपूर्ण लाग्छ ।

हुन त आफ्नो आमाबाबुको मुख हेर्न कुनै निश्चित तिथि मिति चाहिँदैन। यो दिन आमाबाबु बिर्सनेहरुको लागि सम्झाउने दिन जस्तो लाग्छ । यो दिनले आमा बुबा प्रतिको सम्मान् फर्काउन सिकाउँछ ।आमाबाबु प्रतिको सम्मान् भन्नु नै उहाँहरुको भावनाको कदर गर्दै सदा सर्वदा खुशी राख्नु हो ।

आज सामाजिक सञ्जालमा बाका फोटाहरुले रङगिन बनाइरहँदा हजारौं बाआमाहरु सडक पेटीमा जीवन मरणको दोसाँधमा सङ्घर्षरत छन् होला कति त धुवाँमा मिसिएर फेरि कहिल्यै नफर्किने स्वर्गको बाटो जाँदै होलान्।ती दुखारी बाआमाहरु र लाखौं अभागी छोराछोरीको मन कस्तो भइरहेको होला। प्रताडित ती बा-आमाको सरापले सरापिरह्यो होला त्यो कल्पना पनि गर्न सकिदैँन।कति धेरै पीडा, कति धेरै दुख,बाबुको मुख हेर्ने दिन, बाबुलाई नै दागबत्ती दिनुपर्ने ।कस्तो लेखान्त हो यो।

आमाबाबुको बाचुन्जेल सेवा गर्ने मरेपछि उहाँको गुण स्मरण गर्नु र उहाँको आर्दशलाई आत्मसाथ गर्नु नै हाम्रो कर्तव्य हो । कुशे औशीको दिन एक दिन राम्रो लुगा दिएर, मिठो मसिनो ख्वाएर, ढोकभेट गर्ने अरु दिन फर्केर पनि नहेर्ने हरु पनि भेटिन्छ । समाजमा राम्रो नाम सुवास कमाउनु, राम्रो काम गरेर सबैको निम्ति उपयोगी बन्न सक्नु नै आमा बाबुको निम्ती खुशी र सुखको क्षण हुनेछ । यिनै कुराको विषयमा विचार विमर्श गर्ने, परिवारमा आमा बाबु र छोराछोरी भेटघाट भएर छलफल गर्ने दिनको रुपमा बुबाको मुख हेर्ने दिनलाई दिन सके साच्चै नै यो बुबाको मुख हेर्ने दिन सार्थक हुनेछ ।

घर भित्रका काम आमाले र घर बाहिरका सम्पूर्ण काम बाबुले ढाकेको हुन्छ । घरको खर्चदेखि शिक्षा दिक्षा, औषधी उपचार अनि परिवारको सम्पूर्ण बृद्धि र विकासमा आवश्यक रकम र सम्पूर्ण व्यवस्थापनमा बाबुको भूमिका अह्म हुने गर्दछ । आजको प्रतिस्प्रधात्मक मुलुकमा कति घाम पानी हण्डर र ठक्कर खादो हो उसले(बुबाले) ।

साँच्चै भन्ने हो भने बाबुले एउटा परिवारको निम्ती ज्यानको बाजी थापेर दिनरात भोक तिर्खा नभनी काम गरिरहेको हुन्छ, परिवार र सन्तानको लागि । यस पर्वमा छोराछोरीले बुबालाई भगवानको रुपमा पूजा गरी ढोगभेट गरिन्छ । बुवालाई मिठो मिठो खानेकुरा खुवाउने राम्रो लुगा र विभिन्न उपहार दिई सम्मान् अनि आदर गर्ने गरिन्छ । आमाबाबु नहुनेले गोकर्ण र विष्णुपादुका जस्ता धार्मिक स्थलहरुमा श्राद्ध, दान, पुण्य गरी पितृ तार्ने विश्वास गरिन्छ ।

जसरी बुवा आमाले निस्वार्थ भावले छोराछोरीलाई जन्म दिई पालन पोषण गर्दछन्, त्यसैगरी छोराछोरीलेपनि वृद्ध अवस्थामा उनीहरुलाई खुसी दिनु पर्छ ।यो एउटा सपुतको परम कर्तव्य पनि हो । यहि सन्देश बुवाको मुख हेर्ने दिनले समाजमा प्रस्तुत गरेको छ । हाम्रो समाजमा विवाहपछि आमा बुवासँग छुटिएर बस्ने सम्पत्ती र अंशको नाममा झगडा गर्ने, अझै भनौं बुढेसकालमा उनीहरुलाई बोझ सम्झने अनि वृद्धाश्रममा समेत लगेर राख्ने प्रचलन बढेको देखिन्छ ।

आमा बुवा भनेका ज्युँदा देवता हुन्।दम्पती मिलेर सम्पत्ति कुम्ल्याउने र बुढा बाआमालाई सधैं आँखामा आँसु र पिडा कसैले कहिल्यै पनि दिनु हुन्न।एक दिन उत्सव मनाउने होइन हरेक दिन बा-आमाको ख्याल गर्न सके सके साच्चै नै यो बुबाको मुख हेर्ने दिनले सार्थकता पाउने छ।