कविता – “मेरा बा” : सन्तोष स्पन्दन 

 

जीन्दगीको पहिरोमा पुरिएको
आफ्नो भाग्यलाई सम्झिएर अर्ध मुर्छित
अवस्थामा पुगेका मेरा बा
जब रात पर्छ अनि अँध्यारोलाई सिरानी हालेर
रात सँग गुनासो गर्छन्
र हरेक दिन झै
बिहानै सखारै नाम्लो, डोरी ,हँसिया बोकेर
खोला सँग सुसेली खेल्दै
कोईली को गीत सँगै
उदाउँदो घामलाई काँधमा बोकेर
पहाड चड्छन् र एक भारी जिन्दगी
लिएर आउँछन्

समयको प्रचन्डताले खुइलिएको
तालु माथि नम्लोले बनाएको
मूलबाटो,
जीवनको चर्को घामले डढेको पिठियूँमा
बसेको डोकाको छाप,
र अभाव को खडेरीले चिरा परेका
पैताला संसारका सबै भन्दा बृहत
पुस्तकालय हुन,

पहाडहरुले जब बसन्तमा हरियो
लाली लाउँछन्
त्यतिबेला लाग्छ
मेरा बा ती पहाडहरूमा अलिकति
चौतारी र भञ्ज्याङ्ग हरुमा अलिकति
खेत बारी र गोरेटोहरुमा अलिकति
पग्लिएरै सकिएका हुन्

बेशी खेत र पहाडको लालीगुराँस
मग्मगाएको पनि बा पग्लिएरै हो
मैले अक्षर रोपेर खुसी फलाएको
बा ले
पहाड फोरेर मन बिराइदिएको भएरै हो
यी खोलाहरू बगेका पनि
मेरा बा पोखीएरै हो
उनी रहरहरुलाई पैताला मुनि राखेर
पहाडझैं उभिन्छन्
कहिले कतै भत्किन्छन्
कतै जल्छन्क
तै सुक्छन्
अनि कतै बग्छन् पनि
केही नभए जस्तो
कतै नपोले जस्तो
न दुखे जस्तो
चुपचाप चुपचाप

म कसरी सोधौँ बा मन जलेको हो ? भनेर
कसरी सोधौँ आँखा बगेका हुन ? भनेर
आगोमा तेल थपेझै हुने डरले
म अहिले अबोध बनेको छु।

-सन्तोष स्पन्दन