नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक खत्रीमाथी कुटपिट :टाउकोमा गम्भिर चोट

धनु गिरी

गुल्मी :नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ बर्षीय लालबहादुर खत्री माथि इस्मा १ हस्तिचौरमा कुटपीट भएको छ । उनलाई रेसुंगा नगरपालिका १ धागिथुमका अन्दाजी ३० बर्षीय सागर बोहोराले जेठ ११ गते राति साढे ९ बजे कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिएकाछन।

चालक खत्रीको टाउकोमा गम्भिर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ । कुटपीटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तिव्र पारिएको पाण्डेयले बताए। कोभिड १९ को महामारीका बेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्स चालक माथि कुटपीट हुनु निकै निन्दनीय बिषय भएकोले अविलम्ब दोषि उपर कारबाही गर्न संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए।

बस्नेतले घटनाको बिषयमा संघमा अहिले छलफल भइरहेकाले दोषिलाई कारबाही नभए सोहि अनुसार आन्दोलन गर्ने जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र श्रेष्टले घटनाको घोर भ्रत्सना गर्दै संलग्नलाई तत्काल कारबाहीको माग गरे। दिनरात कोभिडका बिरामी बोकेर गाउँ, शहर र अस्पताल दौडने एम्बुलेन्स चालकको सुरक्षाका बिषयमा सरकार थप गम्भिर बन्नुपर्ने श्रेष्टको भनाई छ ।