कर्णाली सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन रिफिलिङ स्थापना गर्ने

सुर्खेत :कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर भर्ने रिफिलिङ स्थापना गर्ने भएको छ ।प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमको स्थापना गर्ने सोमबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

‘अक्सिजनको अभाव हुन नदिन सरकारले दुई जिल्लामा रिफिलिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ,’ बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारी प्रवक्ता सीता नेपालीले भनिन्, ‘सुर्खेतका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड २० लाख र कालिकोटका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।’

प्रदेशमा ठूलो क्षमताको रिफिलिङको सुविधा नहुँदा नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेकी नेपालीका अनुसार बैठकले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि समेत थप गरेको छ ।

उनीहरूको करार सकिएका कारण आगामी असार मसान्तसम्म म्याद थप गरिएको हो । यसैगरी रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ । कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मी अभाव हुँदा तत्काल रिक्त दरबन्दीमा पनि जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्री नेपालीले बताइन् ।