थाक्रे गाउँपालिकामा कर्मचारी नियुक्तीमा हुन्छ लापरबाही

धादिङ : धादिङको थाक्रे गाउँपालिकामा कर्मचारी नियुक्तीमा लापरबाही हुने गरेको पाइएको छ।

पालिकामा मनोसामाजिक परामर्श पदको लागि २०७९ भाद्र २७ गते सूचना निकालेर २०७९ फागुन १२ गते प्रयोगात्मक परीक्षा सम्पन्न भएकोमा प्रयोगात्मक परीक्षा भएको करिब ६ महिनापछि २०८० भाद्र ४ गते नतिजा प्रकाशित हुँदा सात जना उम्मेदवाहरुमा सातैजनाको नतिजा असफल आएपछि कर्मचारी नियुक्तीमा लापरबाही हुने गरेको प्रस्ट भएको हो।

कर्मचारी आवश्यकता सम्बन्धि सूचना निकालेको १ वर्षपछि र प्रयोगात्मक परीक्षा सम्पन्न भएको करिब ६ महिनापछि नतिजा प्रकाशित हुदाँ परीक्षामा सहभागी सबै असफल हुनुमा थाक्रे को कर्मचारी नियुक्तीमा मनलाग्दी हुने गरेको पाइएको हो।

एकातिर ७ जना उम्मेदवारहरुमध्ये ७ जनानै असफल त भएका छन् नै अर्कोतिर नतिजा नै त्रुटिपूर्ण रहेको पाइएको छ।

मनोसामाजिक परामर्शको परीक्षामा विज्ञापन न ०३/२०७९/०८० भएपनि नतिजा भने विज्ञापन न ०४/२०७९/०८० को  प्रकाशित भएको छ।

जबकि मनोसामाजिक परामर्श पद भनेर नतिजा प्रकाशित भएको विज्ञापन न.०४/२०७९/०८० भने वित्तीय साक्षरता सहजकर्ता पदको कम्प्युटर सम्वन्धिको विज्ञापन रहेको छ।