बागमती मुख्यमन्त्रीको सचिवालयले भन्यो, ‘मानव तस्करीमा संलग्नता र संरक्षण छैन’

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सचिवालयले ‘मुख्यमन्त्रीको आडमा कोरियामा मानव तस्करी’ भन्ने समाचारको खण्डन गरेको छ ।

स्वकीय सचिवालयले आज बिज्ञप्ति जारी गरी कोरियाको राजदुत बनाउने र कोरियामा कामदार लैजाने भन्ने बिषयमा मुख्यमन्त्री जम्कट्टेलको कुनै संलग्नता नरहेको स्पस्ट पारेको हो । मुख्यमन्त्रीका सूचना प्रविधि तथा प्रेस बिज्ञ राजन अधिकारीद्धारा जारी बिज्ञप्तिमा मुख्यमन्त्रीको आडमा कोरियाको रोजगारीका नाममा मानव तस्करी भएको भनी प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको र समाचारमा भनिएका रुद्रप्रसाद अधिकारीले कोरियाको राजदुत बनाउने र कोरियामा कामदार लैजाने कुरा नगरेको र कुनैपनि युवालाई कोरिया जाने बारेमा समेत कुरा नगरेको भनिएको छ ।

रुद्रप्रसाद अधिकारीसँग मुख्यमन्त्रीको कुनै साँठगाँठ र संलग्नता नरहेको तथा संरक्षण समेत नगरेको भन्दै जारी बिज्ञप्तिमा अधिकारी वा अन्य कुनै व्यक्तिले मुख्यमन्त्रीको नाम लिएर गलत काम वा गतिविधि गरेको भए स्वयं भागिदार हुने भन्दै कोही ठगिएको भए कानुनी कारवाहीमा जान भनिएको छ । ठगिएका र पीडित भएकाहरुलाई मुख्यमन्त्री तथा सचिवालयवाट आवस्यक सहयोग गर्ने समेत उल्लेख छ । रुद्रप्रसाद अधिकारी सहित काठमाडौंको दक्षिणकाली नगरपालिकाका बिभिन्न राजनीतिक दलका प्रतिनिधि मुख्यमन्त्री कार्यालयमा बिद्यालय बस र विकास निर्माणका योजना माग गर्न दुई पटक आएको भन्दै सचिवालयले मुख्यमन्त्रीलाई भेटेर तस्वीर खिचेकै आधारमा संलग्नता र संरक्षण नहुने बताएको छ ।

हिजो काठमाण्डौंवाट संचालित एक अनलाईनले ‘बागमतीका मुख्यमन्त्री जम्कट्टेलको आडमा मानवतस्करी, कोरिया सपना देखाएर २ सय युवा ठगिए’ भन्ने समाचार प्रकाशित गरेको थियो ।