
काठमाडौं: नेपाली काँग्रेसका सांसद सुनिल शर्माले अब शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताए।
अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेपछि यस्तो बताए। ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतङ्ककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए।
उनले सदनमा गोप्य मतदान गरे ‘प्रचण्ड’को पक्षमा २० मत पनि नआउने दाबी गरे। माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ। आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए। शर्माले अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।
उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन। काँग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ। शेरबहादुर दाइ, केपीबा हुँदै शेखर कोइराला,गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन्।’उनले आगामी दिनमा आफू काँग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए।
