डुब्न लागेको सूर्यजस्ता व्यक्तिबाट अब धेरै काम हुँदैनः मन्त्री ज्वाला

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डुब्न लागेका घामजस्ता व्यक्तिबाट अब देश निर्माणमा धेरै काम नहुने बताए।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले उनीहरूका ज्ञान,सीप र अनुभव लिनुपर्ने तर उनीहरूबाट नै धेरै काम भने नहुने बताए।

‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन। समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवारहरुले नै हो। जो बिहान उदाउँदाका सूर्य जस्तै हुन्छ,’ उनले भने।

मन्त्री ज्वालाले युवाहरूकै काँधमा देश, संसार र दुनियाँ हुने बताउँदै बिहान उदाउँदाका सूर्यजस्तै उर्जाशील र जोशीला युवाहरूले नै देश बनाउने बताए।

तर ती देश बनाउने युवा अहिले निराश रहेको पनि मन्त्री ज्वालाले बताए। उनीहरूलाई निराशाबाट बाहिर निकाल्न के गर्न सकिन्छ भन्नेबारे सरकार, राजनीतिक दल र त्यसका संगठनहरूले बहस गर्नुपर्ने उनको भनाइ ।

‘होइन भने युवा पलायन रोक्न सकिँदैन,’ उनले भने, ‘देश उर्जाशील र वौद्धिक युवाविहीन हुन्छ। बुढाबुढी र बालबालिका मात्रै रह्यो भने विकास कसरी हुन्छ।’

मन्त्री ज्वालाले युवाहरूलाई यही देशमा राखेर राष्ट्रनिर्माणमा लगाउन रोजगारीको सिर्जनानै आधारभूत कुरा भएको बताए। त्यसका निम्ति सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।