पर्यटकीय क्षेत्र बन्दै महाबु : जाने हैन त ?

पुष्कर खड्का,

दैलेख : महाबु लेक, दैलेख जिल्लाको महाबु गाउँपालिकामा पर्छ । दैलेख जिल्ला र कालिकोटको सिमानामा रहेको महाबु धाम (गाथ)लाई पहिले गाथ भन्ने गरिन्थ्यो भने आजभोलि चलनचल्तीको भाषामा ‘महाबुधाम’ भन्न थालिएको छ ।

महाबु गाथ रहेको स्थान निकै रमणीय पाटन क्षेत्र छ । यहाँ दैलेख, कालिकोट , जुम्लालगायतका स्थानबाट भैँसी, भेंडाबाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्दथे । महाबु लेकका चारैतर्फ अग्लाअग्ला लेकहरू । बिचमा कालिकोटतर्फ जाने सानो खोला, जुन आफ्नो गन्तव्यसम्म पुग्नको लागि सुसाउँदै बग्ने गर्दछ । त्यसैको वरिपरि मनै लोभ्याउने हरियाली पाटन । पाटनमाथि आफ्नो पेट कहिल्यै नभरिएको झैँ चरिरहेका भेडाहरू । केहीमाथि थुम्कोमाथि शिवको पुजा-आराधनाका लागि विशाल ढुङ्गामाथि रहेको थान (शिवज को लिङ्ग) देख्न सकिन्छ ।

सुन्दर पाटन हेर्न आफ्नो चिन्ताहरू मुक्त गर्न स्वच्छ हावापानी, धार्मिक आस्था चाहानेहरुका लागि र पर्यटकहरूको आकर्षक केन्द्र हुन सक्ने सुन्दर महाबुमा एकपटक पुग्नै पर्ने ठाउँ हो । समुन्द्र सतहदेखि ४ हजार २ सय मिटर उचाईमा रहेको महाबु धाममा प्रत्येक वर्ष जनै पूर्णिमाको दिनमा पूजापाठ गर्ने चलन रहेको छ ।

कालिकोट जिल्लाका काफ्ले कुलमा एक जना र दैलेख जिल्लाका आचार्य कुलका एक जना गरेर दुई जना पुजारीले पूजा गर्ने परम्परा रहेको छ । स्वचित्त र स्वघट लगेर मागेको मनोकामना पुरा हुने विश्वासका साथ भक्तजनहरू भेला हुने गर्दछन् । पहिलेका दिनहरूमा महाबुुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहेतापनि अब महिलाले पनि महाबुको दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।

भक्तजनहरू आफ्नो मनोकांक्षा पुरा होस् भनेर महादेवलाई त्रिशूल बनाएर काँधमा राखेर लागि चढाउने गर्दछन् । करिब डेढ दिनको पैतला यात्रामा महाबुधाम पुग्न सकिन्छ । अधिकांश कोही जीप अनि मोटरसाइकलमा महाबुधाम पुग्दछन् । भुर्तिका आचार्य ब्राहामणहरू बिहानै अर्थात् पूजा हुने दिन हिँडेर शिव उत्पत्ति भएको स्थानमा पुग्न सक्ने र अन्य यात्रुलाई दुई दिनको यात्रा गर्नुपर्ने महाबुको महिमा देखेर भक्तजनहरू अचम्मित छन् ।

महाबुधाममा मेला हेर्न सँगै पूजा गर्नको लागि नेपाल भारतबाट हजारौँ तिर्थालुहरू दैलेख सदरमुकाम हुँदै महाबु पुग्दछन् । महाबुगाथ नेपालकै प्रसिद्ध धामको रूपमा परिचित भएकै कारण प्रत्येक वर्ष पूर्णिमाको दिन सहित चतुर्दशीका दिन विशेष पूजापाठ गरिन्छ । एउटा मात्र वर मागे पूरा हुने विश्वास अहिले पनि कायमै छ ।

पूजापाठ लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको करिब ४ सय मिटर टाढैबाट मुखमा बुकी झार सहित घाँस च्याप्ने चलन अहिले पनि छ भने दाम्लो बाँधेकै स्थानमा मरेका पशु चौपायाहरूको मोक्ष प्राप्तिका लागि किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन कायमै रहेको छ ।

नबोलेर शिव लिङ्ग भएको स्थानमा सबै भक्तजनहरूले १.३.७ पटकसम्म परिक्रमा गर्ने गर्दछन् । महाबुधाम जाँदा बाटोमा पर्ने इँटाको उकालो, छान्ना, दशरथे, ओखरबाँस, भावसैनि, नाउली उनिपाटा हुँदै लिस्नेको उकालोसम्मको यात्रा सम्पन्न गरेपछि महाबु पाटन पुग्न सकिन्छ । न समात्ने हाँगो, न गतिलो टेक्न मिल्ने ठाउँ- ९० डिग्रीको उकालोमा बालक, वृद्ध, महिला, पुरुष सबैले सहजै जगन्नाथको कृपाका कारण कुनै दुर्घटना नभई सहजै यात्रा गर्दै आएका छन् ।

महाबु पाटनबाट जुम्ला, कालिकोट, दैलेख जाजरकोटका गाँउहरू सहजै देख्न सकिन्छ । मौसम सफा भएको बेला अर्थात् असोज, कार्तिकको महिनतिर बर्दिया , टिकापुर, नेपालगन्ज, सुर्खेत देख्न सकिन्छ । मध्य तथा सुदूरपश्चिम र भारतबाट समेत दशौँ हजार भक्तजनहरू साउनको जनै पूर्णिमामा घुइँचो लाग्ने गर्दछन् ।

दैलेख भुर्ति आचार्य कुलमा लाटो बाहुनले धेरै गाईहरू पालेका थिए । उनको एक गाईको दूध निकाल्दा दूध ननिस्किने भयो । उनले मनमा सोचे यो गाईले सधैँ दूध दिँदैन किन दिँदैन भनेर उनेले त्यसको चियो गर्न थाले । अहिले जुन ठाउँमा शिव लिङ्ग छ त्यही ठाउँमा त्यो गाईले दूध चढाउने गर्दो रहेछ । यो देखेर लाटो गोठालोलाई त्यहाँ के रहेछन् भनेर जान्न मन लाग्यो, त्यसपछि उनले हँसियाको टुप्पोले कोट्याएर हेर्दा शिव लिङ्ग देखे ।

एकदिन उनी त्यही ढुङ्गामा सुतेको बेला उनलाई सपनामा महादेवले लाटो गोठालोलाई तिमिले मलाई सधैँ दूध चढाउनु, यसो गरेमा तिमी बोल्न सक्ने हुनेछौ र यहाँ शिव लिङ्ग देखेको कुरा कसैलाई पनि नभन्नु भनेर अन्तर्ध्यान भए । महादेवले भनेअनुसार गरेर उनी बोल्न सक्ने भएका थिए ।

महाबुधाममा पुग्ने तिर्थालुहरूका अहिलेसम्म उचित वासस्थान हुन सकेको छैन, उता कालिकोटको सिमानामा रहेका तीन वटा र यता दैलेखको सिमानामा रहेको एउटा धर्मशाला भएपनि महाबुधाममा जाँदा बस्न नमिल्ने समेत फोहोर हुन्छ । अर्कोतर्फ राज्यले तथा प्रचारप्रसार जिम्मा पाएका निकार्य पैसाको खेलमा यी र यस्ता पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।

पुनः अपलोइड