जब गीत मर्छ , हल्ला सुरु हुन्छ ,रसुवाली कवि (टि.पि. तिमल्सिना)

एउटा गीतबारे मैले सामाजिक संजालमा स्टाटस राखेपछि धेरै जनाले अलि बिस्तृतमा बोल्न आग्रह गर्नुभएको छ । साथी कृष्ण खड्का (जस्लाइ म भुतपुर्व युनिक सिन्धुलीयन भन्छु)को प्रेमिल आग्रह छ एउटा लेख चाहियो । साथीहरूले भनेपछि नाइ भन्नू आफुलाइ बडा ठुलो सम्झिनु हो भन्ने आरोप पनि लाग्न सक्छ । राज्यद्वारा आरोपित मलाई आरोपसँग डर लाग्दैन ।

यो लेख गीतहरुमा देखिएको अराजकता सम्बन्धमा मेरो निजि बुझाइसँग सम्बन्धित छ । मैले यस लेखमा एक महिनाभित्र ट्रेनिङमा परेका र युटुबमा आएका गीतहरुको मात्र उदाहरण पेश गर्ने जमर्को गरेको छु ।

गीतले समाजको यथार्थ बोल्नुपर्छ ।गीत समाजको दर्पण हो । यस्ता धेरै परिभाषा गीतबारे हामी दिन सक्छौ । गीत हामीलाई मनपर्नुको कारण गीतमा दुस्खहरुको सुस्केरा हुन्छन् , गीतमा जीवनको लयात्मक स्वर हुन्छ । मनोबिदहरु रुदाखेरि मान्छेले पिडालाई थोरै भएपनी मथ्थर गर्न सक्छ भन्छन् । त्यस्तै गीतले पनि दुस्खले भिजेका मान्छेहरुलाइ शितलता दिदो हो । पिडामा लगाएको मल्हम जस्तो हुदो हो गीत ।

म सम्झ्न्छु घाँस काटन गएका भाउजुहरुले गाएका घाँसे गीतहरु । आमाहरूले गाउँने पुराना गीतहरु । रसुवा नुवाकोटतिर प्रचलित कांठे भाकाहरु । तिजका गीतहरु । रेडियो सुनेका नारायण गोपालदेखि अन्जु पन्तका गीतहरु । आन्दोलनमा हिडदा सामना परिवारले गाउने क्रान्तिकारी गीतहरु । यी सबै गीतहरुमा मैले जीवनका खुशी , उल्लास , बिद्रोह , आक्रोश , पिडा र धोकाहरुको भाका भेटेको छु । मलाई गीत जस्ता गीतहरुप्रती प्रेम छ । ियिखभ थयग गीतहरु ।
म गीतको ज्ञाता होइन । म उस्तो संगीतको मर्मज्ञ पनि होइन । मलाई बिज्ञताप्रती एकप्रकारको झोक छ । मलाई सांगीतिक बिज्ञहरुसँग बिश्वास छैन । म अनबीज्ञ हुनुलाइ जीवनको योग्यता ठान्दिन ।
आउनुस गोडा पाँचै गीतमा मेरो निजी धारणा सुन्नुस । यदि तेरो गन्थन किन सुन्नु भन्ने लाग्छ युवटुबतिर जानुस् , त्यहाँ कुमार बस्नेतका गीतहरु पाइन्छन । कानमा इयरर्फान कोच्नुस र गीतहरु सुन्नुस । तपाईंलाइ मज्जा आउने छ ।
गन्थन सुन्न चाहनेलाई केही उदाहरण पेश गर्छु । पहिलो गन्थनबाट बिरक्त हुनु भयो भने कृपया तपाईं दुर्गेश थापाका भाकाहरु सुन्न सक्नुहुन्छ ।
उदाहरण नम्बर १
गीतको बोल तारा जुनले

तिम्रै जस्तो चाहिएछ जोवन
सके हल्लाउ नसके भो भन
तारा जुनले
मै आए सम्झिएर तिमी हुनाले
पहिल्यै देखि राख्या हो सर्त
थाहा पाइसके मर्द र नामर्द
तारा जुनले
मै आए सम्झिएर तिमी हुनाले
सुशीला तामाङ र कृश क्षेत्रीको स्वर रहेको यो काँठे भाका यो महिना निकै चर्चामा रहयो । ठुलो हलो जस्तो गीत गाएकी सुशीलाको त्यही शृङ्खलाको अर्को गीत हो मै आए सम्झिएर ।गीतमा प्रयोग भएको शब्दहरुले यौनजन्य क्रियाकलापलाई संकेत गर्छ्न । यहाँ प्रयोग भएको शब्द मर्दको अर्थ हो पुरुषत्व । मर्द पुरुषले जुनसुकै स्त्रीलाई पनि वसमा राख्न सक्छ भन्ने भावलाई गीतले प्रथामिकता दिएको छ ।अर्को ठाँउमा भनिएको छ –
प्रसङ्गले प्रसङ्ग नै खोज्यो त
अहिलेसम्म कति खेत जोत्यो त
ताराजुनले
मै आए सम्झिएर तिमी हुनाले
झुटो कुरा कसैलाई भनिएन
दिन बिराएर जोतियो गनिएन
ताराजुनले
मै आए सम्झिएर तिमि हुनाले
प्रिय पाठक गायक गायिकाहरुले भन्नू भएको जोत्नुको अर्थ के लाग्छ् ? दिन बिराएर जोत्ने भनेको के हो ? यो गीत एउटा उदाहरण मात्र हो । यस्तो गीतको बाढी देखिन्छ सामाजिक संजालमा । यस्ता गीत लोकगीतको मर्ममाथी प्रहार गरिरहेका छन । प्रिय पाठक तपाईंलाई के लाग्छ ?
उदाहरण २
गीतको बोल ( सारङ्गी र्याइ र्याइ)

राम्री राम्री केटी देख्दा आँखा सन्काउन पाइन्थ्यो
साँझ परेपछि साथीभाइसँग इति दन्काउन पाइन्थ्यो
सबैले भन्छ्न बिहे गरेपछि बन्धनमा परिन्छ
यस्तो बिन्दास मान्छे बन्धनमा परे खुत्रुक्कै मरिन्छ
चर्चित र जागरणका गीत समेत गाएका पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको यो गीत अहिले पनि ट्रेनिङमा छ । यो गीतले युवाहरूलाई के सन्देश दिन्छ ?यो गीतलाई हाम्रो सामाजिक संरचना र बुझाइले कुन स्थानमा राख्छ? यस्ता कुरा पशुपति शर्माले बुझेनन भन्न सकिदैन । उनले यस्ता कुरा काफी बुझेका छ्न ।
चर्चा आउन गाइएको यो गीतको बेइज्जतको के कुरा गर्नु । हाम्रो अपेक्षा हो पशुपतिले जागरणकै गीत गाउनु । जागरणका गीत गाउँदा पनि भाइरल नै हो तपाईं ।
उदाहरण ३
गीतको बोल (काठमाडौं शहर)

ओइ धेरै हिरो नबन
नबन मुला मुला नबन
ठमेल दादा तँ राम्रोसँग चिन्छु ।
ठमेल त मुला दिनमा दसचोटी हिडछु
तेरो पैसा धुती धुती गरिबलाई दिन्छु
चाहे भने आँधी ठमेल एकैरातमा किन्छु
दुर्गेश थापाको गीत पनि यहि महिना आएको हो । र्याप शैलीको यो गीतले अन्तिममा राजनीतिक नेताहरूलाई पनि ब्यंङय गरेको छ । दर्शक स्रोताहरुलाई अर्कै लोकमा पुर्याउने यस्ता गीतले असली गीतहरुलाई चर्चा आउनबाट रोकिराखेका छ्न । होहल्लामय यस्ता गीतले वाहिवाही कमाइरहेका छ्न ।
प्रिय पाठक हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हौं । दुर्गेशहरुले यस्तो गीत गाउन पाउदैन भन्न हामी कहाँ सक्छौ र ? र पनि संगीतलाई बुझेर ,सांगीतिक साधना गरेर , मौलिकता बचाउन सके राम्रो । नत्र र्याप कहाँ भजन जस्तो हुन्छ भनेर बस्नुमै आनन्द होला ।
उदाहरण ४
गीतको बोल ( खान्दानी छोरी )

 

बाउ आमा हुने खाने केल्लाइ पर्यो टेन्सन लिन
जाने गर्छु सपिङ गर्न हप्ताको दुई चार दिन
सानो जब गर्छौ भन्छौं
मलाई लभ गर्छौ भन्छौं
म त परे ओइ कान्छा छोरी खान्दानी
कति हुन्छ महिनामा तिम्रो आम्दानी
मिस्टर आरजेको खान्दानी छोरी बोलको र्याप गीत पनि यहि महिना बजारमा आएको हो । आरेजेसँगै यस गीतमा ईश्वरी बरालको पनि स्वर रहेको छ ।गीतमा शहरिया धनी परिवारको रवाफको चर्चा छ । प्रेमलाइ बस्तु सोच्ने समकालीन बजारिया प्रवृत्तिलाई यस्तो गीतहरु प्रोत्साहित गरिरहेका छ्न । यो त्यही शृङ्खलामा आएको नयाँ गीत हो ।
लभ (माया ) र आम्दानीको सम्बन्ध अर्थशास्त्रीय हुन सक्दैन । मुल्य र मागको जस्तो बिपरित सम्बन्ध मायामा हुन सक्दैन ।वजारवादले छपक्कै छोपेको हाम्रो सांगीतिक क्षेत्रले सधैं यस्तै भाष्य निर्माण गरिदिएको छ । माया भनेकै पैसाले हुने गर्ने हो । माया भनेको पितृसत्ताले जेजे भन्छ त्यही त्यहि हो ।
मिस्टर आरजेको यो गीतले त्यही भन्छ कान्छा तिमीसँग कति छ गाठ ।
उदाहरण पाँच
गीतको बोल ठुलो हलो भाग चार

रानीबन चराउन् हालेछ ।
तिम्रो बोका मातिन थालेछ
पल्लो ओल्लो गाउँमा झरे
च्याप्दे हुन्छ उताउलो काम गरे
बिचरा त छ अझै भोको
च्याप्न हुन्न गाउँघरको ब्याड बोको
यो गीत पनि शुशिला तामाङकै हो ।उनलाई सागर बिसीले साथ दिएका छ्न । गीतमा बोकालाइ इङ्कित गरेर दमित यौनलाई नै बढ्वा दिन खोजीएको छ । नेपाली मौलिक गीत भनिएपनि यस गीले बिकृतिलाइ नै बढवा दिन्छ । छिल्लिने कुरासँग संकृतिको कुन सम्बन्ध होला खोइ ? भएदेखि मेरो भन्नु केहि छैन ।
रमाइलोका लागी वा मनोरञ्जनको गीत मात्र गीत संगीतलाई बुझ्ने र प्रस्तुत गर्ने यो भाइरल जमानामा केही न केही मसला नहाली गीत नबिक्ने स्थिति आएको छ । गायक गायिकाहरु यस्तो सोचमा पुगेका छ्न छाडा या सन्देशमुलक जेसुकै होस , गीत भनेको युवटुबमा चल्ने हुनुपर्छ । धेरै मान्छेले हेर्ने हुनुपर्छ ।लाग्छ असली गीतहरु मरिरहेका छ्न । नक्कली हल्लाहरु चलिरहेका छ्न ।
प्रिय पाठक यति पढिसकेपछी पनि तपाईंलाई बोर नै लाग्यो भने युवटुब खोल्नुस , दुर्गेश थापा टाइप गर्नुस । त्यहा तपाईंको टेन्सन दुर गर्ने सांगीतिक दवाइ धेरै छ्न ।
धन्यवाद ।
रसुवाली कवि (टी.पि.तिमल्सिना)