(कविता)बुद्ध तिमी फेरी आऊ-शुनु कार्की

यो संकटको घडीमा
यो मृत्युको ताण्डवमा
मान्छेलाई तिम्रो खॅाचो छ
मान्छे पनि मनुष्य भाकै हो
तिम्रो पथ पछ्याउनेहरु
अहिले त मान्छे मनुष्य त हुनै सकेनन्
बरु मान्छेबाट तल खसेछन्

मानिस त विशाल संभावनाको बीज
बुद्धत्त्वको भगवत्ताको मुना
जुन तिमीले बाहिरी शिक्षाबाट नपाएर
बाहिरी जंगलको बासमा
भित्री मोहको जंगल फॅाड्दै
चैतन्यको बाटो हुदै शून्यमा
विश्राम गर्यौ

अनि संसारलाई त्यो सत्यको वोध गरायौ
जुन कुराले मान्छे धन्य भएको थियो
जातीयताको माहामारी शान्त भएको थियो

आज देशलाई फेरी एउटा बुद्धको खॅाचो छ
जो मोहदेखि पार भएको
केवल मनुष्यत्तवको पथ प्रदर्शक
विवेक लुटिएको देशमा
मानवता बिक्ने देशमा
बुद्ध तिमी फेरी आऊ

शिक्षित पनि छन यहॅा
वैज्ञानिक पनि तर
विवेक र करुणा शिक्षाले दिएन
न विज्ञानले नै
ध्यानको विज्ञान नभाको त होइन
ऋषिमुनीका सबै वेद छन्
मात्र उच्चारण हुन्छन्
गहिराइ पाएनन्
गहिराइ पाए त पून:जीवित हुन्थे कि
टाउकेहरु
अहिले जनकजस्तो शासकको खॅाचो छ
बुद्ध तिमी फेरी आऊ!!